बूढीगङ्गाको त्रिशक्ति मावि मतदान केन्द्रमा हवाई फायर, अवस्था सामान्य बन्दै – Himalayan Dainik

बूढीगङ्गाको त्रिशक्ति मावि मतदान केन्द्रमा हवाई फायर, अवस्था सामान्य बन्दै


बूढीगङ्गाको त्रिशक्ति मावि मतदान केन्द्रमा हवाई फायर, अवस्था सामान्य बन्दै

काठमाडौँ – बाजुराको बूढीगङ्गाको त्रिशक्ति मावि मतदान केन्द्रमा हवाई फायर गरिएको छ।  बूढीगङ्गा नगरपालिकाको पालिका चुनावमा विवाद सिर्जना भएपछि प्रहरीले हवाई फायर गरेको हो । बूढीगङ्गा नगरपालिकाको वडा नम्बर -९ को त्रिशक्ति माध्यमिक विद्यालयमा रहेको मतदानस्थलमा तनाव सिर्जना हुँदा हवाई फायर गरिएको बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द अधिकारीले जानकारी दिनुभयो ।

मतदानस्थलमा मत खसाल्ने क्रममा दुई पक्षबीच भनाभन भएको थियो । त्यसपछि हानाहानसमेत भएको थियो । हानाहान भएपछि बाहिरका मानिसभित्र छिर्न खोजेपछि झडप भएको अधिकारीले बताउनुभयो । केहीबेर तनावको अवस्था सिर्जना भए पनि अहिले भने फेरि अवस्था सामान्य भएर मतदान सुरु भइसकेको अधिकारीले बताउनुभयो ।

झडपका क्रममा केही व्यक्ति सामान्य घाइतेसमेत भएका छन् । बूढीगङ्गामा गएको वैशाख ३० मा पालिकाको चुनाव भए पनि बुथ कब्जा भएको भन्दै विवाद भएपछि फेरि चुनाव गर्ने निर्णय निर्वाचन आयोगले गरेको थियो ।

बूढीगङ्गामा नेपाली कांग्रेस र नेकपा एमालेबाट मेयर तथा उपमेयरका उम्मेदवार छन् । कांग्रेसबाट रङ्गबहादुर खाती र एमालेबाट रामबहादुर बानियाँ मेयर पदका लागि उम्मेदवार छन् । उपमेयरमा कांग्रेसबाट रीता शाही र एमालेबाट मायाकुमारी खड्का कुँवर उम्मेदवार छन् ।

मतदानस्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएका छन् । मतदानका लागि १० मतदानस्थल र १९ केन्द्र छन् ।