बेलायती प्रधानमन्त्री जोनसन दबाबमा ,जिम्मेवार सम्हालेका ४० भन्दा बढी मन्त्रीले दिए राजीनामा – Himalayan Dainik

बेलायती प्रधानमन्त्री जोनसन दबाबमा ,जिम्मेवार सम्हालेका ४० भन्दा बढी मन्त्रीले दिए राजीनामा


बेलायती प्रधानमन्त्री जोनसन दबाबमा ,जिम्मेवार सम्हालेका ४० भन्दा बढी मन्त्रीले दिए राजीनामा

सरकारका प्रभावशाली केही मन्त्री तथा सल्लाहकार गरी ४० जनाभन्दा धेरैले राजीनामा दिएपछि बेलायती प्रधानमन्त्री बोरिस जोनसन दबाबमा पर्नुभएको छ ।बेलायतमा मन्त्रीसहित विभिन्न जिम्मेवारी सम्हालेका सल्लाहकारले राजीनामा दिएका छन् ।

अर्थमन्त्री ऋषि सुनाक र स्वास्थ्यमन्त्री साजिद जाभेदले राजीनामा गरेको २४ घण्टा बित्न नपाउँदै जोनसनको साथ छोड्ने मन्त्री र सल्लाहकारको सङ्ख्या ४० भन्दा धेरै पुगेको बीबीसीले जनाएको छ ।

आफ्नै मन्त्रिपरिषद्का मन्त्री र सल्लाहकारले नै राजीनामा दिएपछि प्रधानमन्त्री जोनसन दबाबमा पर्नुभएको हो । उहाँको कन्जरभेटिभ पार्टीभित्र र बाहिरबाट राजीनामा माग गरिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

गृहमन्त्री प्रीति पटेललगायतले अनौपचारिक रूपमा भेटेर राजीनामा दिन सुझाए पनि जोनसन त्यसका लागि तयार नभएको खबरमा उल्लेख छ । बेलायतमा राजनीतिक सङ्कट गहिरिएको छ । प्रधानमन्त्री जोनसनको कार्यशैलीप्रति चर्को आलोचना हुँदै आएको छ । तर उहाँले सन् २०१९ को चुनावले दिएको जनादेश आफूसँग रहेको भन्दै मन्त्रीहरु परिवर्तनले जनादेश नगुम्ने बताउनुभएको छ ।

सत्तारुढ दल कन्जरभेटिभ भित्रै प्रधानमन्त्री जोनसनको विकल्प खोज्न यसअघि ल्याइएको अविश्वास प्रस्ताव विफल भएको थियो । अहिलेको नियम अनुसार उहाँले एक वर्षका लागि अर्को त्यस्तो चुनौतीको सामना गर्नुपर्ने छैन । तर अर्को अविश्वास प्रस्तावका लागि पार्टीको विधान परिवर्तन गर्ने प्रयास भइरहेको छ ।

बीबीसीसँगको एक अन्तर्वार्तामा प्रधानमन्त्री जोनसनले क्रिस पिन्चरविरुद्ध लागेको यौन दुर्व्यवहारसम्बन्धी आरोपबारे जानकारी हुँदाहुँदै पनि आफूले सहायक प्रमुख सचेतक नियुक्त गर्नु गल्ती भएको स्वीकार गर्नुभएको छ । जोनसनले गल्ती स्वीकार गरेपछि राजनीतिले नयाँ मोड लिएको हो ।