उद्घाटन गरेको ४ महिनामै भासियो शपिङ कम्प्लेक्स र चिल्ड्रेन पार्कको मैदान – Himalayan Dainik

उद्घाटन गरेको ४ महिनामै भासियो शपिङ कम्प्लेक्स र चिल्ड्रेन पार्कको मैदान


उद्घाटन गरेको ४ महिनामै भासियो शपिङ कम्प्लेक्स र चिल्ड्रेन पार्कको मैदान

काठमाडौँ – खोटाङको दिक्तेल बजारमा शपिङ कम्प्लेक्स र चिल्ड्रेन पार्कको मैदान उद्घाटन गरिएको चार महिनामै भासिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ दिक्तेल बजारको रत्नपार्कमा चार करोड रुपैयाँ खर्च गरेर बनाइएको शपिङ कम्प्लेक्स र चिल्ड्रेन पार्कको पर्खाल, मैदान भासिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नगरपालिकासँगको साझेदारीमा चार करोड ३७ लाख ८४ हजार रुपैयाँमा निर्माण गरिएको कम्प्लेक्स र पार्कको मैदान सामान्य वर्षाकै कारण भत्किएको हो ।

व्यावसायिक प्रयोजनका लागि निर्माण गरिएको कम्प्लेक्स र पार्क गएको फागुन ३ गते उद्घाटन गरिएको थियो । निर्माण कम्पनी उमा–लामा–अनशुबी जेभीले ठेक्का लिएको कम्प्लेक्स र पार्क २०७८ जेठ ६ गते शिलान्यास गरिएको थियो ।

कम्प्लेक्सको माथिल्लो तलाको पछाडिपट्टि पार्क निर्माण गरिएको छ । त्यही पार्कको पर्खाल र मैदान निर्माणको केही समय नबित्दै भासिएको हो । भरिएको माटोमाथि पर्खाल उठाएका कारण मैदान भासिएको देखिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताउनुभयो ।

पार्कको मैदानको स्वीमिङ पुलसहितको एक भागमा झन्डै आधा मिटर भासिएको छ । मैदानको पर्खाल पनि चर्किएको छ । बनेको हप्ता दिनमै शपिङ कम्प्लेक्स र चिल्ड्रेन पार्कको पर्खाल चर्किएको स्थानीयवासी बताउँछन् ।