चुनावमा महासंग्रामको सामना गर्नुपर्‍यो : अध्यक्ष ओली – Himalayan Dainik

चुनावमा महासंग्रामको सामना गर्नुपर्‍यो : अध्यक्ष ओली


चुनावमा महासंग्रामको सामना गर्नुपर्‍यो : अध्यक्ष ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह चुनावमा एमालेले चुनाव मात्र नलडेर एउटा महासंग्राम नै लड्नु परेको बताएका छन् ।

आज एमालेबाट निर्वाचित जनप्रतिनिधिका लागि काठमाडौँमा भएको प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले महासंग्राम जितेर आएको भन्दै जनप्रतिनिधिलाई बधाई दिएका छन । उनले चुनावका नाममा गरिएका अस्वस्थ र अलोकतान्त्रिक गतिविधिसँग पनि लडेर आएका कारण एमालेका जनप्रतिनिधिले महासंग्राम लडेको बताए ।

देशको विकास गर्ने र समृद्धि बनाउन पार्टी एमाले रहेको भन्दै उनले त्यो जिम्मेवारी पूरा गर्न जनप्रतिनिधिहरुलाई निर्देशन दिए । विकासका कामहरुलाई अघि बढाउन भिजन र योजनासहित अघि बढ्न निर्देशन दिँदै उनले भने, ‘विकासका लागि साझा प्रयास गर्नुहोस र विकासको अभियान्ता बन्नुहोस् ।’

उनले कार्यकाल पूरा गर्दा आफ्नो नाम हाईहाई हुनेगरी काम गर्न शुभकामना पनि दिए । “तपाईंहरूले पाँच वर्षको कार्यकाल पूरा गर्दा तपाईंहरूको नाम हाईहाई होस् । आलोचना सुन्न नपरोस् । प्रशंसा होस् । स्थानीय तहमा कसरी काम गर्नुपर्छ भनेर नमुना हुनुस्” उनले भने, “जनताले प्राप्त गर्नुपर्ने सेवा सुविधा उपलब्ध गराउनुस् । जनताको सेवामा सधैँ तत्पर रहन सक्नुस् ।” उनले पालिकामा देखिनेगरी विकासका काम गर्न निर्देशन पनि दिए ।