नेपाल अपाङ्ग महिला सङ्घले निर्वाचन आयोगलाई ज्ञापन पत्र बुझायो – Himalayan Dainik

नेपाल अपाङ्ग महिला सङ्घले निर्वाचन आयोगलाई ज्ञापन पत्र बुझायो


नेपाल अपाङ्ग महिला सङ्घले निर्वाचन आयोगलाई ज्ञापन पत्र बुझायो

काठमाडौँ – अपाङ्गता भएका व्यक्तिहरूलाई मतदाताको रूपमा मात्र सिमित नराखी उम्मेदवारको रूपमा समेत जिताउन आरक्षणको व्यवस्था हुनुपर्ने मागसहितको ज्ञापनपत्र निर्वाचन आयोगलाई हस्तान्तरण गरिएको छ ।

नेपाल अपाङ्ग महिला सङ्घले राजनीतिमा अपाङ्गता भएका व्यक्तिको सहभागीताको सुनिश्चितताका लागि विभिन्न मागसहित आइतवार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई ज्ञापनपत्र बुझाएको हो ।

सो अवसरमा प्रमुख आयुक्त थपलियाले तत्कालै निर्वाचन सम्वन्धी ऐन,कानुनमा परिवर्तन गरिने कार्यक्रम छैन, आगामी दिनमा सङ्घको सुझाव तथा सरोकारवालासँग छलफल गर्दै उचित सम्वोधन गरिने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय अपाङ्घ महासङ्घ नेपालका अध्यक्ष मित्रलाल शर्माले अपाङ्गता भएका व्यक्तिको मत मात्र चाहिने, उसलाई राजीनितीक अधिकार नदिने प्रवृत्तिको अन्त्यका लागि निर्वाचन आयोगले नीतिगत सुधार गर्दै दललाई वाध्यात्मक प्रावधान राख्न लगाउनुपर्नेमा जोड दिनुभयो ।

यस अघि सङ्घले अपाङ्गता भएका महिला अधिकार र सरोकारको ज्ञापनपत्र राष्ट्रिय समावेशी आयोग र राष्ट्रिय योजना आयोग पनि बुझाएको थियो ।

सङ्घले बुझाएको ज्ञापनपत्रमा समावेशी आयोगलाई व्यवहारमै समावेशी बनाउन अपाङ्गता भएका व्यक्तिको समेत सहभागिता गराउनुपर्ने, राजनीनिक दल तथा निर्वाचन आयोगसँग अपाङ्गता भएका व्यक्तिको राजनीति तथा निर्वाचनमा सक्रिय सहभागीताका लागि सिफारिस तथा छलफल गर्नुपर्नेलगायतका बुँदा समेटिएका छन् ।

साथै संविधान, ऐन, नीतिले व्यवस्था गरेको हक, अधिकारको कार्यान्वयनका लागि ऐनले व्यवस्था गरेको बुँदालाई योेजना बनाउँदा नै बजेटसहित स्पष्ट उल्लेख गर्नुपर्ने, अपाङ्गता भएका व्यक्ति तथा महिलाको खण्डीकृत तथ्याङ्क अध्यावधिक गरी शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा, पुनःस्थापनाका कार्यक्रम अगाडि बढाउनुपर्ने लगायतका बुँदा समेटिएका छन् ।

सो अवसरमा राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा.रामकृष्ण तिमल्सेनाले सङ्घको मागलाई सम्वोधन गर्न आवश्यक छलफल तथा सिफारिससहित विज्ञताको प्रयोगको प्रयास गर्ने प्रतिवद्धता जनाउनुभयो ।

त्यसैगरी आयोगका सदस्य विष्णुमाया ओझाले अपाङ्गमैत्री भौतिक संरचना र व्यवहारमा सुधारका लागि आफुले आवाज उठाउँदै आएको बताउनुभयो ।

राष्ट्रिय योजना आयोगलाई पनि उक्त ज्ञापनपत्र दिएको थियो । आयोगका सदस्य सलोनी प्रधान सिंहले संविधान प्रदत्त अधिकारको कार्यान्वयनका लागि आयोग सजग रहेको बताउनुभयो ।

सङ्घका अध्यक्ष टीका दाहालले समग्रमा अपाङ्गता भएका व्यक्तिको सर्वाङ्गिण हित र विकासले देश नै समृद्ध हुने भएकोले यसतर्फ सचेत नागरिक, सरकारी संयन्त्र तथा विकासका लागि साझेदार सङ्घ संस्थाको सहकार्यमा जोड दिनुपर्ने बताउनुभयो ।