खोटाङ – केपिलासगढी गाउँपालिकाका ६ सय ११ घरपरिवारलाई कम्बल निःशुल्क वितरण गरिएको छ । अमेरिकामा सञ्चालित होप एण्ड हेल्पिङ हेण्डस् नामक संस्थाको आर्थिक सहयोगमा उक्त गाउँपालिकाको सातवटै वडाका अतिविपन्न, एकल महिला र अशक्त व्यक्ति भएका घरपरिवार छनोट गरी उनीहरुको गाउँमै लगेर निःशुल्क कम्बल वितरण गरिएको हो ।
सप्तेश्वर, बाक्सिला र बास्पानीका २ सय ६०, खार्ताम्छा र फेदीका १ सय ६५, दिप्सुङ र सुङ्देलका १ सय ८६ घरपरिवारलाई कम्बल वितरण गरिएको नेकपा ९एकीकृत समाजवादी० पार्टीका जिल्ला सहसचिव माइतीराज राईले बताए । अमेरिकी संस्थाको आर्थिक सहयोगमा खरिद गरिएको कम्बल सोही दलका पोलिटब्यूरो सदस्य एवं प्रदेशसभा सदस्य राजन राईले वितरण गरेका थिए ।
जिल्लामा जाडो याम सुुरु भएसँगै चिसोले कठ्याङ्ग्रिएर रात बिताउँदै आएका अतिविपन्न, एकल महिला र अशक्त कम्बल पाएपछि हर्षित भएका छन् । यसैबीच बुधबार दिउँसो वर्षा भएसँगै जिल्लामा अत्यधिक चिसो बढेको छ । लेकाली भेगमा हिमपात तथा बेँसी क्षेत्रमा भारी वर्षा भएसँगै जिल्लामा अत्यधिक चिसो बढेको हो । वर्षा र हिमपातपछि एक्कासि बढेको चिसोका कारण जिल्लाको जनजीवनमा असर परेको छ । चिसो बढेसँगै जिल्लामा बिजुली खपत बढ्नाका साथै हिटरको व्यापार बढेको व्यापारीले बताएका छन् ।