डोटी – जिल्लाको बडिकेदार गाउँपालिका–४ का किसानले काँचो अदुवाको मूल्य नपाउँदा सुठो बनाउन थालेका छन् । अदुवा तथा बेसारखेतीका लागि जिल्लाकै प्रसिद्ध मानिँदै आएको उक्त पालिकामा प्रायः सबै किसानले अदुवा र बेसारखेती गर्दै आएका छन् ।
यहाँ उत्पादन गरिने अदुवा तथा बेसारका लागि मुख्य व्यापारीक केन्द्र भारतको पलिया, गौरीफण्टा र बनबासा भएको र त्यहाँका व्यापारीले मूल्यमा घटिबढी गर्ने गरेका कारण यहाँका किसानलाई अदुवा बिक्रीमा समस्या हुने गरेको बडिकेदार–४ का अदुवा व्यापारी खडक केसीले बताए । उनले भने, “हाम्रो अदुवा र बेसारको मुख्य व्यापारी भारतका हुन्, त्यहाँका व्यापारीले मूल्य घटाउने गरेका कारण हामीलाई समस्या भएको हो, हामीले उत्पादन गरेका चिज वस्तु हाम्रै सहरमा खपत हुनसके राम्रो हुन्थ्यो, किसानलाई पनि राहत हुन्थ्यो ।”
यहाँका किसानले उत्पादन गरेको काँचो अदुवालाई गाउँकै व्यापारीले सस्तो मूल्यमा किनी सुठो बनाउन थालेको अर्का किसान नरेश मौनीले बताए । उनका अनुसार काँचो अदुवालाई कम्तीमा पनि एकदेखि दुई हप्तासम्म घाममा सुकाएर सुठो बनाइन्छ । तीन किलो काँचो अदुवा बराबर पछि गएर ९सुकेपछि० जम्मा एक किलो मात्रै हुने उनको भनाइ छ । सुकाएर बनाइएको सुठो बर्सौसम्म पनि नकुहिने तथा नबिग्रिने भएकाले यहाँका किसानले उत्पादन गरेका अदुवा अहिले गाउँमै सुठो बनाउन थालिएको अर्का स्थानीयवासी दलबहादुर कलेलले जानकारी दिए । उनका अनुसार स्थानीय काउले बजार नजिकैको खाली डाँडामा गाउँकै स्थानीय व्यापारीले किसानबाट काँचो अदुवा सङ्कलन गरी सुठो बनाउन सुरु गरेका छन् ।