सरकारद्वारा २५ जनाभन्दा धेरै भेला हुन रोक : उच्चपदस्थ व्यक्तिबाटै अवज्ञा – Himalayan Dainik

सरकारद्वारा २५ जनाभन्दा धेरै भेला हुन रोक : उच्चपदस्थ व्यक्तिबाटै अवज्ञा


सरकारद्वारा २५ जनाभन्दा धेरै भेला हुन रोक : उच्चपदस्थ व्यक्तिबाटै अवज्ञा

काठमाडौँ – कारोनाको तेस्रो लहरलाबाट जोगिन सरकारले सोमबारबाट २५ जनाभन्दा धेरै भेला हुन रोक लगाएको छ । तर, २४ घन्टा नबित्दै देशका उच्चपदस्थ व्यक्तिबाटै सिंहदरबार गेटमै सरकारी निर्णयको अवज्ञा भएको छ ।

जब कि सोमबारको तुलनामा मंगलबार संक्रमण करिब ८० प्रतिशतले वृद्धि भएको छ । अझ त्योभन्दा डरलाग्दो त कुल संक्रमितमध्ये आधाभन्दा धेरै काठमाडौं उपत्यकामा छन् । कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी) ले आइतबार तीव्र गतिमा बढ्दै गएको संक्रमणप्रति सचेतना अपनाउन १३ बुँदे निर्देशनात्मक प्रस्ताव सरकारलाई गरेको थियो ।त्यसको लगत्तै सोमबार गृह मन्त्रालयले सार्वजनिक स्थानमा २५ जनाभन्दा धेरै भेला हुन रोक लगाएको थियो । मंगलबार उपत्यका तीवटै जिल्लाका सिडिओहरुले पनि त्यही निर्देशन जारी गरेका छन् । तर, मंगलबार पृथ्वीनरायण शाहको जन्मजयन्तीमा राष्ट्रपति विद्यादेवी भण्डारीदेखि पूर्वराजा ज्ञानेन्द्र शाहसम्मले भिड जम्मा गरेका छन् ।

सिंहदरबारको पश्चिम गेटअगाडि रहेको शाहको सालिकमा माल्यार्पण गर्न उनीहरू पुग्दा ठूलो भिड जम्मा भएको थियो । राष्ट्रपति सुरक्षाकर्मी मात्र लिएर गए पनि कार्यक्रमस्थलवरिपरि सर्वसाधारणको भिड थियो । विगतका वर्षहरूमा राष्ट्रपति यसरी नजाने गरे पनि कोरोनाकै समयमा भने यस्तो कार्यक्रममा जानुलाई सुरक्षाकर्मीले समेत अनौठो मानेका छन् । मंगलबार नै राष्ट्रपति भण्डारीले चन्द्रागिरि नगरपालिका– १ स्थित दहचोकमा रहेको काजी कालु पाँडेको सालिकमा पुष्पहार अर्पण गरेकी थिइन् ।