नयाँ दिल्ली – कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण तीव्र बन्दै गएपछि भारतमा एकै दिन ९० हजारभन्दा बढी संक्रमित थपिएका छन् ।
भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा ९० हजार ९ सय २८ जना संक्रमित भएका हुन् । योसँगै भारतमा हालसम्म संक्रमित हुनेको संख्या ३ करोड ४९ लाख नाघेको छ ।
मन्त्रालयका अनुसार सोही अवधिमा थप ३ सय २५ जनाको संक्रमणका कारण मृत्यु भएको छ । यसैसँगै भारतमा कोभिडका कारण ज्यान गुमाउनेको संख्या ४ लाख ८७ हजार ६ पुगेको छ । भारतभर हाल २ लाख ८५ हजार ४ सय १० जना संक्रिय संक्रमित छन् ।
मन्त्रालयले पछिल्लो २४ घण्टामा १९ हजार २ सय जना निको भएको जनाएको छ । निको हुने दर ९७.८१ प्रतिशत रहेको जनाइएको छ । सन् २०२१ को जनवरी १६ बाट कोभिडविरुद्धको खोप अभियान सुरु गरेको भारतले १ अर्ब ४८ करोड ६७ लाखभन्दा बढी डोज खोप लगाइसकेको जनाइएको छ ।