राष्ट्रिय सहकारी बैंकको गण्डकी प्रदेशस्तरीय साधारणसभा सम्पन्न – Himalayan Dainik

राष्ट्रिय सहकारी बैंकको गण्डकी प्रदेशस्तरीय साधारणसभा सम्पन्न


राष्ट्रिय सहकारी बैंकको गण्डकी प्रदेशस्तरीय साधारणसभा सम्पन्न

पोखरा – राष्ट्रिय सहकारी बैंक लिमिटेडको १८औं वार्षिक साधारणसभाको एकाई (४) अन्तर्गत गण्डकी प्रदेशस्तरीय साधारणसभा बिहीबार गण्डकी प्रदेशको राजधानी पोखरामा सम्पन्न भएको छ ।

साधारणसभामा बैंकका अध्यक्ष केबी उप्रेतीले सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले सहकारी क्षेत्रलाई व्यावसायिक रूपमा सक्षम बनाउन तथा सहकारीको संस्थागत विकासका लागि सहकारी बैंकले वित्तीय व्यवस्थापन, सहकारी स्तरीकरण लगायतका कार्यक्रम अगाडि बढाएको जानकारी दिएका छन् ।

बैंकले आफ्ना सदस्य सहकारी संघ संस्थासँगै समग्र सहकारी अभियानलाई सदस्य केन्द्रीत व्यवसायतर्फ अग्रसर गराउनाका साथै सहकारीको साख निर्माणका लागि समन्वयकारी भूमिका निर्वाह गर्दै आएको बैंकसँग सहकार्य गरेर अगाडि बढ्न सबै सहकारीहरूलाई अध्यक्ष उप्रेतीले आह्वान गरेका छन् ।

बैंकले चालू आर्थिक वर्षको अन्त्यसम्म शेयर पूँजी ३ अर्ब ५० करोड, निक्षेप सङ्कलन ७८ अर्ब १ करोड, कर्जा लगानी ४९ अर्ब भन्दा बढी गरी ८६ अर्ब १७ करोड भन्दा बढीको कुल कारोबार गर्ने लक्ष्य लिएको अध्यक्ष उप्रेतीले जानकारी दिए । बैंकमा हाल रहेको ३ अर्ब शेयर पूँजीलाई बढाएर ८ अर्ब पुर्याउने लक्ष्य रहेको उप्रेतीको भनाइ छ ।

साधारणसभामा लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन सदस्य मित्रराज दवाडी, विनियम संशोधन प्रस्ताव सञ्चालक ध्रुव नारायाण यादव, कार्यविधि संशोधन प्रस्ताव तथा बैंकको केन्द्रीय कार्यालयको लागि भवन निर्माणसम्बन्धी प्रस्ताव सञ्चालक तथा नीतिनियम निर्माण उप–समितिका संयोजक रामहरि बजगाईले प्रस्तुत गरेका थिए ।

बैंकका अध्यक्ष केबी उप्रेतीको अध्यक्षतामा भएको साधारण सभामा राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक हुमा कुमारी जिसी (अञ्जु), केन्द्रीय दूग्ध उत्पादक सहकारी संघका वरिष्ठ उपाध्यक्ष अमरबहादुर कुँवर, नेफ्स्कुनका सञ्चालकद्वय चण्डी प्रसाद शर्मा र कमलादेवी गिरी, जिल्ला सहकारी संघ लिमिटेड नवलपुरका अध्यक्ष केशव प्रसाद सापकोटा, जिल्ला सहकारी संघ. कास्कीका अध्यक्ष सावित्रा कोइराला, पोखरा महानगर सहकारी समन्वय समितिका अध्यक्ष तेज नारायण अधिकारी लगायतले शुभकामना व्यक्त गरेका थिए ।