काठमाडौं – एनएमबि बैंकको २६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
हिजो बिहीबार त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न साधारणसभाले १५.८ प्रतिशत लाभांश पारित गरेको छ । आर्थिक वर्ष २०७७÷७८ को नाफाबाट हाल कायम चुक्त पूँजीको १२.५० प्रतिशत बोनस शेयर र ३.३ प्रतिशत नगद लाभांश (बोनसमा लाग्ने कर प्रयोजनका लागि) पारित गरेको हो ।
बोनस शेयर वितरणपश्चात बैंकको चुक्ता पूँजी १८ अर्ब ३६ करोड रुपैयाँ पुग्ने जानकारी गराइएको छ । बैंकको २०७८ असारसम्ममा खुद नाफा २ अर्ब ७१ करोड रुपैयाँ, निक्षेप १६६ अर्ब र कर्जा १५८ अर्ब रहेको छ ।
एनएमबि दि फिनान्सियल टाइम्स, लण्डनद्वारा ‘बैंक अफ दि इएर एशिया २०२१’ र ‘बैंक अफ दि इयर नेपाल २०२१’ बाट सम्मानप्राप्त बैंक हो । बैंकले २०१७, २०१८, २०२० र २०२१ को अवार्ड हात पारिसकेको छ ।
एनएमबि बैंकले हाल २०१ वटा शाखा, १३८ वटा एटीएम र ९ वटा विस्तारित सेवाद्वारा सेवा प्रदान गर्दै आइरहेको छ ।