मलखादको समस्या तत्काल समाधान हुन्छ : कृषिमन्त्री यादव – Himalayan Dainik

मलखादको समस्या तत्काल समाधान हुन्छ : कृषिमन्त्री यादव


मलखादको समस्या तत्काल समाधान हुन्छ : कृषिमन्त्री यादव

काठमाडौं – कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्र राय यादवले मुलुकमा तत्काल मलखाद समस्या समाधान हुने बताएका छन् ।

उनले भारतसँग जीटूजीमार्फत मल खरीदको सम्झौता हुने दाबी गर्दै अब मुलुकमा किसानले मलखादको अभाव झेल्न नपर्ने बताएका हुन् । ‘प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण हुँदैछ, त्यो भ्रमणमा हाम्रो मन्त्रालयका सहसचिव जाने निश्चित् भएको छ । यो भ्रमणमा मलखादको जीटूजीको एमओयु हुने सम्भावना छ,’ उनले भने, ‘अहिले नेपाल सरकारसँग १२ हजार मेट्रिक टन युरिया र डीएपी मल छ । केही दिनभित्रै किसानलाई दिन्छौं ।’

हिजो बिहीबार राजधानीमा भएको एक साक्षातकार कार्यक्रममा मन्त्री यादवले भने, ‘अहिले राम्रो प्रयास भैरहेको छ । कृषि क्षेत्रमा धेरै राम्रो सम्भावना छ । कृषि क्षेत्रलाई आत्मनिर्भर बनाऔं । ६५ प्रतिशत यो पेशामा आवद्ध छन् ।’ युवा शक्ति स्वदेशमै बसुन् भन्ने आफूहरुको चाहनाबमोजिम कृषिमा सरकारले अनुदानको व्यवस्था गरेको उनको नभाइ छ ।

उनले देशको मेरुदण्ड भनेको कृषि नै रहेको उल्लेख गर्दै थपे, ‘कृषि क्षेत्रमा जनताले आत्मनिर्भर हुन खोजिरहेका छन् । कृषि क्षेत्रलाई समृद्धिको यात्रामा जोड्नको लागि नेपाल सरकारले कृषि क्षेत्रमा २० वर्षे योजना बनाएको छ । त्यो योजनाअन्तर्गत यसमा सबभन्दा सुधार गर्नुपर्ने कुरा धेरै छन् । पहिलो कुरा त कृषि क्षेत्रलाई सरकारले उचित बजेटको व्यवस्थापन गर्नुपर्छ । र यसको आधुनीकरण, व्यवसायीकरण अनि औद्योगिकरण, मूल्य निर्धारण, भण्डारण र बजारीकरणको उचित प्रवन्ध गर्नुपर्छ ।’

त्यस्तै, उनले उत्पादन वृद्धिका लागि सामूहिक खेती गर्नुपर्नेमा पनि जोड दिएका छन् । उनले निजी, सहकारी र सरकारी क्षेत्रको सहकार्यमा नै कृषि क्षेत्रको विकास हुने उल्लेख गरे । उनले भने, ‘चक्लाबन्दीको आधारमा व्यवसायिक खेती गर्न सक्यौं भने राम्रो हुन्छ, हुन त यो निर्वाहमुखी पेशा हो । यसलाई आकर्षणको पेशा बनाउनुपर्छ । यसले देशको समृद्धिको यात्रालाई अघि बढाउन सहयोग पुर्याउँछ । देशको व्यापार घाटा कम हुन्छ ।’

मन्त्री यादवले अहिले पनि मलखादको अभाव रहेको सुनाउँदै भने, ‘नेपालमा सधैं मलको समस्या छ । मैले मलको समस्या छ, यसको दीर्घकालीन समाधानको लागि यहाँ नै मल कारखाना चाहिन्छ । मलको समस्याको कुरा गर्दा हामीले अनुदानमा मल ल्याउने गरेका छौं । त्यो पनि समयमा कहिल्यैपनि मलखाद उपलब्ध भएको छैन् । यो सरकारले, यो मन्त्रालयले मल खादको समस्या समाधानको लागि काम गरिरहेको छ ।’

‘विद्युत्मा नै आधारित मल कारखाना चाहिन्छ भन्ने कुरा उठेको छ,’ उनले भने, ‘हामीलाई १ लाख मेट्रिक टन युरिया चाहिन्छ । २ लाख मेट्रिक टन डिएपी र ८ लाख मेट्रिक टन पोटासिएम चाहिन्छ । यति उत्पादनको लागि नेपालमा काखाना र फ्याक्ट्री लगाउनको लागि, अहिले पनि लगानी बोर्डमा प्रस्ताव दर्ता भएको छ । तर, ती ठूला उद्योगको लागि धेरै लागत लाग्छ, करिब १ खर्ब २५ अर्ब लागत लाग्ने कुरा छ, यसको डीपीआर बनेको छ ।’