काठमाडौँ – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आज पनि आफू पक्षीय नेताहरूको बैठक आह्वान गर्नुभएको छ ।
पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न र १४ औं महाधिवेशनको समीक्षा गर्न भन्दै कोइरालाले आज दिउँसो दुई बजे आफू पक्षीय नेताहरुको बैठक बोलाउनुभएको हो । कोइराला निकट नेता बलबहादुर केसीले दिउँसो २ बजे बैठक बस्ने पुष्टि गर्दै स्थान भने निश्चित नभएको जानकारी दिनुभयो । कोइराला निकट अर्का एक नेताले भने बैठक सिंहदरबार अगाडिको बसेरा होटलमा बस्ने तयारी गरिएको बताउनुभयो ।
कोइराला पक्षीय नेताहरुको बैठक मंगलबार पनि बसेको थियो । उक्त बैठकले पार्टी सभापति शेरबहादुर देउवा एकलौटी रुपमा अगाडि बढेको र आफूहरुलाई शक्तिका रुपमा स्वीकार नगरेको निष्कर्ष निकालेको थियो ।
