काठमाडौं – नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुनः सर्वसम्मत चयन भएका छन् ।
राजधानीमा सम्पन्न आठौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकले अध्यक्षमा प्रचण्डलाई पुनः चयन गरेको हो । चुनावपछि गर्ने भनिएको विशेष महाधिवेशनमा नेतृत्व परिवर्तन नभए प्रचण्डको कार्यकाल पाँच वर्षको हुने छ ।
माओवादी केन्द्रको बैठकले नेता नारायणकाजी श्रेष्ठको प्रस्ताव र कृष्णबहादुर महराको समर्थनमा अध्यक्ष चयन गरेको हो । आठ दिनसम्म राजधानीको प्रज्ञा प्रतिष्ठानमा चलेको महाधिवेशनले अपूरो केन्द्रीय कमिटीबाहेक पदाधिकारी चयन गर्न सकेको थिएन । त्यही अपूरो केन्द्रीय कमिटीबाट प्रचण्ड अध्यक्षमा निर्वाचित भएका हुन् ।
अध्यक्षमा प्रचण्डलाई चुने पनि माओवादीको अन्य पदाधिकारी भने टुंगो लाग्न सकेको छैन । अन्य पदाधिकारी चयन गर्न पुस २५ गते केन्द्रीय कमिटी बैठक आह्वान गरिएको छ । सो बैठकले पार्टीका पदाधिकारी चयन गर्ने बताइएको छ ।
महासचिवमा सहमति जुट्न नसकेपछि पदाधिकारी चयन गर्ने बैठक एक साता धकेलिएको हो । महाधिवेशन हलले आइतबार २ सय ३६ सदस्यीय अपुरो केन्द्रीय समिति चयन गरेको थियो । महाधिवेशनबाट पारित माओवादीको विधानमा केन्द्रीय समितिले पदाधिकारी, स्थायी समिति र पोलिटब्युरो चयन गर्ने व्यवस्था छ । यसैअनुसार अध्यक्षमा दाहाल निर्विरोध निर्वाचित भएका हुन् ।
अध्यक्षमा पुनः निर्वाचित भएपछि बैठकमा प्रचण्डले केन्द्रीय कमिटीलाई धन्यवाद दिँदै माओवादी आन्दोलन प्रचण्डको निजी नभएको र देश तथा पार्टीको आवश्यकताले पुनः अन्तिमपटक नेतृत्व गर्नुपर्ने बाध्यतामा आफूले जिम्मेवारी लिएको बताएका छन् ।
‘मैले पटक–पटक भन्ने गरेको छु– प्रचण्ड नहुँदैमा माओवादी आन्दोलन सकिँदैन । कसैले कमजोर बनायो भने पनि इतिहासले त्यसलाई खोतलिरहन्छ, अगाडि ल्याइरहन्छ । माओवादी आन्दोलन सदा जीवित रहनेछ र शक्तिका साथ अगाडि आउनेछ भन्ने म विश्वास व्यक्त गर्न चाहन्छु,’ प्रचण्डले भने, ‘कसैले के भ्रम नपाले हुन्छ भने माओवादी आन्दोलन प्रचण्डको व्यक्तिगत होइन ।’ प्रचण्ड ३० वर्षदेखि माओवादीको नेतृत्वमा रहँदै आएका छन् ।