काठमाण्डौ – चालु आर्थिक वर्ष २०७८/७९ मा धान उत्पादनमा कमी आएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले विगत पाँच वर्षयताकै धान उत्पादनमा कमी आएको जनाएको हो ।
मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गएको आर्थिक वर्ष २०७७/७८ को तुलनामा चालु आवमा धान उत्पादनमा ८ दशमलव ७४ प्रतिशतले कमी आएको हो । चालु आवमा ५१ लाख ३० हजार मेट्रिक टन धान उत्पादन भएको हो । गएको आवमा ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।
यस्तै आव २०७६/७७ मा ५५ लाख ५० हजार ८७८, आव २०७५/०७६ मा ५६ लाख १० हजार र २०७४र७५ मा ५१ लाख ५१ हजार ९२५ मेट्रिक टन धान उत्पादन भएको थियो । गएको वर्षको तुलनामा मन्त्रालयले यसवर्ष धान उत्पादनमा वृद्धि हुने अनुमान गरेता पनि धान थन्क्याउने बेलामा नै वर्षा र हावाहुरीका कारण धानमा क्षति पुग्दा उत्पादनमा कमी आएको मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले जानकारी दिए ।
उनका अनुसार सुदूरपश्चिमका कैलाली र कञ्चनपुर तथा लुम्बिनी प्रदेशका बर्दिया, बाँके, कपिलवस्तुलगायत विभिन्न जिल्लामा बैमौसमी वर्षाले किसानको धानमा क्षति पुर्याउँदा समग्र राष्ट्रिय धान उत्पादनमा कमी आएको हो ।
यसवर्षको बेमौसमी वर्षाले देशभरका एक लाख ११ हजार ६०९ हेक्टरमा लगाइएको चार लाख २४ हजार ११३ टन धानबालीमा क्षति पुर्याएको मन्त्रालयले जनाएको छ ।
कुन प्रदेशमा कति उत्पादन
मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गएको आर्थिक वर्षको तुलनामा सुदूरपश्चिम प्रदेशमा धान उत्पादनमा कमी आएको छ । त्यस प्रदेशमा चार लाख ४१ हजार ९१३ मेट्रिक टन धान उत्पादन भएको हो । गएको आवको तुलनामा ३१ दशमलव ४९ प्रतिशतले उत्पादनमा कमी आएको छ ।
यस्तैगरी लुम्बिनी प्रदेशमा १८ दशमलव ३८ प्रतिशत, प्रदेश नं १ मा ० दशमलव ९३ प्रतिशत, प्रदेश नं २ मा ५ दशमलव २४ प्रतिशत, वाग्मती प्रदेशमा ० दशमलव ३५ प्रतिशत र कर्णालीमा ८ दशमलव ७६ प्रतिशतले उत्पादनमा कमी आएको छ । प्रदेशगत रुपमा धान उत्पादनको अवस्था हेर्दा गएको आवको तुलनामा यसवर्ष गण्डकी प्रदेशबाहेक अन्य प्रदेशमा धान उत्पादन घटेको छ ।
चालु आवमा गण्डकी प्रदेशमा मात्र २दशमलव३३ प्रतिशतले धान उत्पादनमा वृद्धि भएको मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । यसवर्ष धान रोप्ने समयमा नै मनसुन सक्रिय हुँदा १४ लाख ७७ हजार ३७८ हेक्टर क्षेत्रफलमा धान रोपिएको थियो ।
