एमसीसीकै कारण गठबन्धन टुट्दैन : अध्यक्ष दाहाल – Himalayan Dainik

एमसीसीकै कारण गठबन्धन टुट्दैन : अध्यक्ष दाहाल


एमसीसीकै कारण गठबन्धन टुट्दैन : अध्यक्ष दाहाल

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) का कारण हालको सत्तारुढ गठबन्धन नटुट्ने बताएका छन् ।

न्युज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा प्रधानमन्त्री शेरबहादुर देउवा पनि एमसीसी सम्झौतामा केही सुधार गर्नुपर्ने पक्षमा रहेको भन्दै प्रचण्डले यसले केही समय लिए पनि एमसीसीकै कारणले गठबन्धन नटुट्ने बताए ।

उनले भने, ‘अस्ति गठबन्धनको बैठकमा प्रधानमन्त्रीले पनि सुधारको गुन्जायस छ भन्नुभएको छ, अप्ठेरो नै पर्‍यो भने पनि एमसीसीका कारण गठबन्धन टुट्दैन । टुट्न हुँदैन र टुट्न दिइँदैन ।’

एमसीसी सम्झौताको आधिकारिक दस्तावेजमा संसदबाट अनुमोदन हुने विषय नभएको तर पछि समावेश गरिएको भन्दै प्रचण्डले यसैका कारण आशंका उत्पन्न भएको बताए ।

‘यो विषयमा जहाँनिर त्रुटि भएको छ, जुन जुन प्रावधानले हामीलाई अप्ठेरो पारेको छ, जरुरी पर्दा त्यसलाई संशोधन पनि गर्नुपर्‍यो, गम्भीर र संवेदनशील विषय भएका कारण राजनीतिक दलहरुबीच अधिकतम सहमति गर्नुपर्‍यो’ प्रचण्डले भने ।