एमसीसीविरुद्ध संयुक्त विरोध प्रदर्शन – Himalayan Dainik

एमसीसीविरुद्ध संयुक्त विरोध प्रदर्शन


एमसीसीविरुद्ध संयुक्त विरोध प्रदर्शन

काठमाण्डौ – अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)खारेज गर्न माग गर्दै आएका मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेकपा मालेसहितका राजनीतिक दलले आज मङ्गलवार काठमाण्डौमा विरोध प्रर्दशन गरेका छन् । एमसीसी संसदबाट पारित गर्न नदिने चेतावनी दिँदै नेकपा (क्रान्तिकारी माओवादी) का नेता सीपी गजुरेल, नेकपा मालेका महासचिव सीपी मैनालीसहितका नेताको अगुवाइमा काठमाण्डौमा विरोध प्रर्दशन गरिएको हो ।

कार्यक्रममा बोल्दै नेकपा (माले) का महासचिव एवम् पूर्वउपप्रधानमन्त्री सीपी मैनालीले एमसीसी अनुदान नभएको दाबी गरे । उनले कुनै पनि अनुदान संसदबाट पास गर्नु नपर्ने र एमसीसी प्रचार गरिएअनुसार अहिले नआएको समेत बताए । महासचिव मैनालीले एमसीसीमार्फत अमेरिकाले नेपाललाई सैन्य रणनीतिभित्र पारेर चीनसँग लड्नका लागि नेपाललाई अखडाको रूपमा प्रयोग गर्न चाहेको समेत बताए । उनले ५० करोड डलरमा नेपालको स्वाधीनता बिक्री गर्न नदिने बताए ।

त्यस्तै नेकपा (क्रान्तिकारी माओवादी) का नेता सीपी गजुरेलले एमसीसी नेपालीहरूका लागि एउटा धोका भएको बताए । उनले विकास निर्माणको नाममा आउने रकमको नाममा अमेरिकाले सुरक्षा रणनीति भित्र्याउन चाहेको आरोप लगाए । नेता गजुरेलले एमसीसी सम्झौता खारेज नभएसम्म आन्दोलन जारी रहने बताए। उनले एमसीसी पारित भए नेपाल रणभूमिमा परिणत हुने दाबी गरे । उनले अमेरिकाको पैसा खाएकाहरूले, आश्वासनमा विकेकाहरूले नै एमसीसी पास गर्न खोजेको आरोप लगाए ।

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका संयोजक विश्वभक्त दुलाल(आहुती) ले संसदवादी दलमा पनि देशभक्त नेताहरू भएकाले सहजै एमसीसी पास हुन नसकेको बताए । उनले केही पार्टी फुटबाट आएकाले आउँदो चुनावलाई मध्यनजर गरेर एमसीसीको पक्षमा पहिले जति हौसिन छोडेको बताए ।

संयोजक दुलालले एमसीसी लागू भएको छैन भन्ने कुरा सत्य नभएको र एमसीए भन्ने संस्था बनेर ११ अर्ब बढी रकम खर्च गरिसकेको बताए ।