काठमाडौं – सिन्धुपाल्चोकमा जन्मिएर नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा क्रियाशील गायिका सुनिता दुलाल जिल्लाकै शान बनेकी छिन् ।
उनी गीतसंगीत कै माध्यामबाट विभिन्न मुलुकका सांगीतिक कार्यक्रमहरुमा सहभागिता जनाउने व्यस्तगायिकाभित्र पर्दछिन् । गायिका सुनिताले व्यावसायिकता भन्दा पनि मौलिकतालाई प्राथमिकता राखेर कयौं गीतहरु बजारमा ल्याईसकेकी छिन् । सोहि क्रममा उनले बजारमा ल्याएको पछिल्लो प्रस्तुति ‘मायाको डोरी’ अहिले लोकप्रिय बनिरहेको छ ।
लोक स्टारलगायत विभिन्न सांस्कृतिक कार्यक्रममा निर्णायकको भूमिका समेत निर्वाह गरिसकेकी उनको पछिल्लो गीतमा प्रताप दाशको पनि मिश्रण स्वर सुन्न सकिन्छ । लोक दोहोरीको स्वादमा सार्वजनिक भएको प्रस्तुत गीतलाई लय तथा शब्द सृजना बबिता बानियाँ जेरीले भरेकी हुन् । सर्जक बबिता प्रत्यक्ष दोहोरीकी नामी कलाकार समेत हुन् ।
‘मायाको डोरी’ बोलको गीतको म्यूजिक भिडियो पनि निकै तामझामका साथ तयार पारिएको छ । भिडियोमा पल शाह, केकी अधिकारी, अन्जना बराइली र भोजराज शर्माको आकर्षक अभिनय देख्न सकिन्छ ।
संख्यात्मक भन्दा गुणस्तरीयतालाई ध्यानमा राख्ने सुनिताको यस गीतलाई तयार पार्न अडियो तथा भिडियोमा कुनै कोणबाट कन्जुसाइ गरिएको छैन । काजिश श्रेष्ठद्वारा निर्देशित गीतको म्यूजिक भिडियोलाई छायांकन उत्सव दाहालले गरेका हुन् भने सम्पादन प्रविन श्रेष्ठले गरेका छन् । गीतलाई सुनिता दुलाल युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।