काठमाडौं – भारतसँग हार बेहोर्दै नेपाली यु–१९ महिला फुटबल टोली बंगलादेशमा जारी साफ यु–१९ महिला च्याम्पियनशीपबाट बाहिरिएको छ ।
फाइनल पुग्न बराबरीको नतिजाले पुग्ने भए पनि भारतसँग १–० को हार बेहोर्दै नेपाल लिग चरणबाटै बाहिरिएको हो । नेपालमाथिको जितसँगै भारतले फाइनलमा स्थान बनाएको छ ।
ढाकास्थित सहिद सिपाही मुस्ताफा कमल स्टेडियममा हिजो आइतबार भएको खेलमा भारतको जितमा दोस्रो हाफमा प्रियंका देवीले गरेको गोल नै निर्णायक बन्यो । उनले ६७औं मिनेटमा गोल गरेकी थिइन् ।
५ टोलीको सहभागिता रहेको च्याम्पियनशीपमा नेपालले दुई जित, एक बराबरी र एक हारको नतिजा निकाल्दै लिगमा तेस्रो भयो । नेपालले चार खेलबाट ७ अंक जोड्यो । बंगलादेशसँग गोलरहित बराबरी खेल्दै च्याम्पियनशीपको सुरुवात गरेको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ६–० र तेस्रो खेलमा भुटानलाई ४–० ले हराएको थियो ।
भारतसँग नेपालको हारसँगै घरेलु टोली बंगलादेशले फाइनलमा स्थान पक्का गरेको छ । अब बंगलादेशले अन्तिम खेलमा श्रीलंकालाई घरेलु टोली समूहको शीर्षस्थानमा रहने छ । लिग चरणमा भारत र बंगलादेशले खेल्दा घरेलु टोलीले १–० को जित निकालेको थियो ।
