उच्च शिक्षामा आर्थिक हैसियत भएकाको मात्रै पहुँच हुनुहुँदैन : प्रधानमन्त्री – Himalayan Dainik

उच्च शिक्षामा आर्थिक हैसियत भएकाको मात्रै पहुँच हुनुहुँदैन : प्रधानमन्त्री


उच्च शिक्षामा आर्थिक हैसियत भएकाको मात्रै पहुँच हुनुहुँदैन : प्रधानमन्त्री

काठमाडौँ, ५ पौष । प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक हैसियत भएका सीमित वर्ग र व्यक्तिको मात्र उच्च शिक्षामा पहुँच हुनुहुँदैन भन्ने मान्यतामा सरकार दृढ रहेको बताएका छन् ।

त्रिभुवन विश्वविद्यालयको ४७ औं दीक्षान्त समारोहलाई आज यहाँ सम्बोधन गर्दै उनले सुलभरूपमा उच्च शिक्षा प्राप्त गरी आफ्नो प्रतिभा र सिर्जना राष्ट्र तथा समाजका लागि उपयोग गर्नसक्ने वातावरण निर्माण गर्नु मुलुकको राष्ट्रिय दायित्व रहेको स्पष्ट पारे ।

प्रधानमन्त्री देउवाले विश्वविद्यालयको शिक्षा केवल औपचारिक तथा सैद्धान्तिक मात्र नभएर व्यवहारिक, जीवनोपयोगी र समाज विकास एवं रूपान्तरणमा सहयोगी बन्नुपर्नेमा जोड दिए । ‘मुलुकको लोकतान्त्रिक प्रणालीलाई सबल र सुदृढ बनाउन तथा अर्थतन्त्रलाई तीव्र रूपान्तरण गर्न सिर्जनात्मक, नवप्रवर्तनशील र युग सुहाउँदो वैज्ञानिक एवं प्राविधिक जनशक्ति हुनुपर्दछ’, प्रधानमन्त्री देउवाले भने, ‘आजको विश्व शैक्षिक बजारमा युग सापेक्ष शैक्षिक तथा व्यवस्थापकीय सुधार गर्दै अघि बढ्न जरूरी छ ।’