काठमाडौं – नेकपा (एमाले) मा पूर्वमाओवादी समूहबाट आएका पाँच जनाले स्थायी कमिटीमा स्थान पाएका छन्
रामबहादुर थापा‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा र प्रभु साह स्थायी कमिटीमा परेका हुन्। एमालेको १०औं राष्ट्रिय महाधिवेशनपछि बादल, रायमाझी, भट्ट र थापा स्थायी कमिटीमा समेटिएको भए पनि साह केन्द्रीय सदस्यमात्र थिए।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले आइतबार मनोनीत गरेका ४४ जना स्थायी कमिटी सदस्यमा साहको नाम समेटिएसँगै पूर्वमाओवादी समूहबाट पाँच जना पुगेका हुन्।
आइतबार अध्यक्ष ओलीले पूर्वमाओवादी समूहबाट कृष्ण केसी, बालसिंह काउँछा, सहदेव बोगटी, दुर्गा प्रसाईं र यमुना रोकालाई केन्द्रीय सदस्य मनोनीत गरेका छन्।