काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालका राजनीतिक पार्टी भनेका नेकपा एमाले र काँग्रेसमात्र भएको बताएका छन् ।
शुक्रबार नेकपा एमाले वागमती प्रदेश कमिटीले दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई बधाई दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अरु सवै पार्टी पानीको फोकाजस्तो भएको बताएका हुन् ।
उनले भने, ‘वास्तवमा पार्टी भनेको नेकपा एमाले हो, त्यसपछि नेपाली काँग्रेस हो, अरु त बन्छन् बिलाउँछन् । फेरि बन्छन् फेरि बिलाउँछन् ।’ ‘पानीका फोकाजस्तो उठिरहन्छन्, फुटिरहन्छन्’, उनले नेकपा एमाले देशको प्रमुख पार्टी भएको भन्दै यसको काँधमा प्रमुख अभिभारा रहेको दावी समेत गरे ।
उनले नेपाली काँग्रेसलाई समेत एमालेले सम्झाउनुपर्ने अवस्था आएको बताए । उनले भने, ‘नेपाली काँग्रेसलाई समेत सम्झाउनुछ । त्यस कामका लागि अहिले म जाँदैछु ।’