श्रेष्ठ हत्या घट्नाको सत्य तथ्य छानबिन नगरे देशभर आन्दोलन चर्काउने राष्ट्रिय युवा संघको चेतावनी – Himalayan Dainik

श्रेष्ठ हत्या घट्नाको सत्य तथ्य छानबिन नगरे देशभर आन्दोलन चर्काउने राष्ट्रिय युवा संघको चेतावनी


श्रेष्ठ हत्या घट्नाको सत्य तथ्य छानबिन नगरे देशभर आन्दोलन चर्काउने राष्ट्रिय युवा संघको चेतावनी

भक्तपुर – सूर्यविनायक नगरपालिका–२ बालकोट निवासी ३३ वर्षीय राजन (राजु) श्रेष्ठको हत्या घट्नालाई पारदर्शी र प्रभावकारी ढंगले अनुसन्धान गरेर सत्य तथ्य बाहिर ल्याउन युवा संघ नेपालले माग गरेको छ ।

युवा संघ नेपाल भक्तपुर जिल्लाले आज मध्यपुर थिमीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै संघका केन्द्रीय अध्यक्ष किरण पौडेलले बिभत्स र क्रुर तबरले गरिएको हत्याको अनुसन्धानलाई प्रहरीले औपचारिकता मात्रै दिन खोजे देशभरका युवाले आन्दोलन चर्काउने बताउनु भयो ।

उहाँले भन्नुभयो, “योजनाबद्ध रुपमा भएको यो हत्या संघीन अपराध हो, युवा संघको जिल्ला सदस्यको हत्या भएको भएर मात्रै होइन, देशको एउटा होनाहार युवाको हत्या भएको छ, प्रहरीले यो घट्नालाई औपचारिकता मात्रै दिएर तथ्यसम्म नपुगी अनुसन्धान रोक्न पाउँदैन, सत्य तथ्य बाहिर ल्याउनु पर्छ ।”

पक्राउ परेको दुई जनालाई मात्रै देखाएर अब ड्युटी सकियो भन्ने नठान्न प्रहरीलाई आग्रह गर्दै उहाँले घट्नास्थल भन्दा केही पर एउटा घर कम्पाण्डदेखि फरामको रेलिङको रगत के हो ?, घट्नामा अरु को को संलग्न छ, त्यसको तथ्य रुपमा छानबिन गरि बाहिर ल्याउनु पर्ने अध्यक्ष पौडेलले बताउनु भयो । राज्यले आमनागरिकको सुरक्षाको व्यबस्था गर्नुपर्छ भन्दै उहाँले यो घट्नामा नदेखिएका अरु अनुहारलाई प्रहरीले कानूनी दायरामा ल्याएर सार्वजनिक गर्नुपर्नेमा जोड दिनुभयो ।

युवा संघका जिल्ला कमिटी सदस्य समेत रहेका श्रेष्ठको मंसिर २१ गते राती पौने १० बजे आफ्नै साथी सुर्यविनायक नगरपालिका–२ बालकोट निवासी २८ वर्षीय हेमन्त श्रेष्ठ र मोरङ लेटाङ घरभई बालकोट बस्ने मजदुर ३० वर्षीय प्रेम बिश्वकर्माले कुटपिट गरि बिभत्स रुपमा हत्या गरेको अभियोगमा दुवै जनालाई प्रहरीले पक्राउ गरि अनुसन्धान गरिरहेको छ ।

कार्यक्रममा युवां संघ भक्तपुर जिल्ला कमिटीका अध्यक्ष पुष्पराज बस्नेतले अपराधिक ढंगबाट आफ्नो कार्यकता हत्या भएको भन्दै घटनाको घोर निन्दा र भत्सर्ना गरेको बताउनु भयो । उहाँले हत्या जुनसुकै बहानामा गरिएको भएपनि तत्काल दोषीलाई कडा भन्दा कडा कारबाहीको गर्नु पर्ने माग गर्नु भयो ।

मृतकका आफन्त स्थानीय भाइकृष्ण श्रेष्ठले घट्नामा दुई जना भन्दा बढीको संलग्नता रहेको आंशका भएकाले प्रहरीले अनुसन्धानलाई अन्तिम चरणसम्म पुर्याउनु पर्ने निरन भट्टराईको घरको कम्पाउण्ड भित्र भेटिएको रगतको सत्यतथ्य छानबिन नगरी प्रहरी यो घट्नाबाट उम्कन नपाउने बताउनु भयो ।

उहाँले हत्या गरेका भनिएका हेमन्त श्रेष्ठ राती पनि घट्नास्थलमा आएर थाहा नपाए झै गरेको र भोली पल्ट शव राखेको मध्यपुर अस्पतालमा समेत आएर मृतकको आफन्तसँग बसेर सँगै चिया खाएर थाहा नपाए झै गरेको, तीन दिन अघि नै हत्या गर्ने योजना बनेकोसम्म खेलेकाले घट्नामा अरुको पनि संलग्नता रहेको हुन सक्ने बताउनु भयो ।

पत्रकार सम्मेलन पछि युवा संघले हत्यारालाई कारबाहीको माग गर्दै मध्यपुरथिमि अरनिको राजमार्ग शंखधर चोकमा प्रर्दशन गरेर चक्का जाम समेत गरेको छ ।