काठमाडौँ – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गैरसांसदलाई संसद बैठकमा राखेर संसद चल्न नदिने अडान दोहोर्याउनुभएको छ ।
प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकारसँगको अन्तरक्रियामा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेकपा एमालेले कारवाही गरेका गैरसांसदलाई संसदमा राखेर बैठक चल्न नदिने बताउनुभयो ।
उहाँले एमाले न्यायिक नेतृत्व हटाउने या राख्ने खेलमा सहभागी नहुने भन्दै स्वतन्त्र र सक्षम न्यायपालिकाको एजेन्डा उठाउनेलाई मात्र समर्थन रहने बताएउनुभयो । उहाँले न्यायालयको अहिलेको अवस्था हेरेर केही प्रतिक्रिया दिन जरुरी नै नभएको भन्दै नेकपा एमाले एउटालाई हटाएर अर्को व्यक्तिलाई ल्याउँदैमा न्यायालयमा सुधार नआउने बताउनुभयो । उहाँले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई हटाउने पक्षमा एमाले नरहेको पनि स्पष्ट पार्नुभयो । प्रधानन्यायाधीश हटाउने या नयाँ बनाउने खेलमा एमाले नरहेको भन्दै उहाँले न्यायालयमा नेतृत्व परिवर्तनले मात्र समस्याको समाधान नहुने र न्यायपालिकामा आमूल परिर्वतन जरुरी रहेको उल्लेख गर्नुभयो । सर्वोच्च अदालतबाट एमाले सबैभन्दा पीडित भएको भन्दै ज्ञवालीले प्रधानन्यायाधीशको राजीनामा माग्दै न्यायाधीश र कानुन व्यवसायीले गरेको आन्दोलनका एजेन्डाबाट न्यायालयको सुधार नहुने बताउनुभयो ।
आगामी २८ मंसिरबाट सुरु हुने संसद् अधिवेशनमा एमालेको अवरोध कायम राख्ने उहाँको भनाइ छ । संसदमा आफहरूले उठाएका एजेन्डाको सम्बोधन नभएसम्म संसद् चल्नै नसक्ने ज्ञवालीको भनाइ छ । पार्टीले कारबाही गरेका सांसद संसद भवनमा रहेसम्म संसद् नचल्ने उहाँको भनाइ छ ।