जाजरकोट – जाजरकोट सदरमुकामदेखि तीन घण्टा गाडीमा हिँडेपछि कुशे गाउँपालिका वडा नम्बर ८ स्थित पैक कफल्ला मष्टा मन्दिरमा पुगिन्छ । यहाँ दैनिक मानिसहरु आफ्नो बारेमा, आफन्तको बारेमा के हुन्छ भन्दै भविष्य हेराउन र विगतमा भएका समस्याका विषयमा हेर्न लगाउनका लागि काफल्न को मष्टा मन्दिरमा आउँनेको संख्या ठुुलो छ ।
सबैको भाग्य रेखा हेर्ने दायित्व वोकेको ऐतिहासिक तथा धार्मिक महत्वका दृष्टिले निकै लोकप्रिय मष्टा मन्दिर क्षेत्रको उचित संरक्षण र सम्वर्धन गर्न सके ठूलो धार्मिक पर्यटकीय क्षेत्र बन्न सक्ने जानकारहरु बताउँछन्। सडक र विजुली अनि सन्चारको पहुँच नभएकोले मष्टा मन्दिरको उचित प्रचार प्रसार नहुँदा त्यति धेरै चर्चामा छैन। मष्टा मन्दिर जाजरकोट राज्यको इतिहाससँग समेत जोडिएको स्थानीय बताउँनछन् ।
मष्टा देवताको उत्पत्ति सुरुमा जुम्लाको ढडार भन्ने स्थानमा भएको जानकारहरु बताउँछन् । ढडारबाट मुगु र बाजुराको बीचमा पर्ने कौवा भन्ने ठाउँमा पूर्ण मष्टा देवता देखा परेको स्थानीयको भनाइ छ। कौवाबाट ६ सय वर्षअघि जुम्लाको वुडु हुँदै बाजुरा र मुगुको सिमानाबाट मष्टा देवता जाजरकोटको पैंक कफल्ला आएको पुजारीले बताउनुभयो।
अहिले पनि पूर्णिमाको दिन वा अन्य कुनै विशेष दिनमा मष्टा मन्दिरका धामी र पूजारीले केही चमत्कारपूर्ण काम गर्ने गरेको स्थानीय ईन्द्र रोकायले बताउनुभयो । भदौं पूर्णिमा इन्द्रजात्रा र अरु पूर्णिमाहरुमा यहाँ निकै ठूलो मेला लाग्ने गर्दछ। स्थानीयहरुको मष्टा मन्दिरप्रति निकै ठूलो आस्था र विश्वास रहेको छ।
मष्टा मन्दिरमा बोकाको बली चढाउने, धामीहरु देवता चढेको बेला नाँच्ने, तथा अन्य रमाइला तथा धार्मिक क्रियाकलाप हुने गरेका छन्। पैंकको कफल्ला मष्टा मन्दिरको धार्मिक तथा ऐतिहासिक महत्वबारे बाहिर प्रचारप्रसार नहुनुले मन्दिर ओझेलमा परेको स्थानीयवासीहरुको जनागुनासो रहेको छ।