मुख्यमन्त्री राईकाे राजीनामाबारे छलफल सुरु, भीम आचार्य मुख्यमन्त्री बन्ने सम्भावना – Himalayan Dainik

मुख्यमन्त्री राईकाे राजीनामाबारे छलफल सुरु, भीम आचार्य मुख्यमन्त्री बन्ने सम्भावना


मुख्यमन्त्री राईकाे राजीनामाबारे छलफल सुरु, भीम आचार्य मुख्यमन्त्री बन्ने सम्भावना

नेकपा एमाले विभाजन भएसँगै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मुख्यमन्त्री पदबाट राजीनामा दिने मुडमा पुगेका छन् । मुख्यमन्त्री राईले मुख्यमन्त्री राजीनामा दिएपछि एमालेकै अर्काे मुख्यमन्त्री बनाउने र अधिका‌ंश सा‌ंसदलाई माधव नेपालसँग जानबाट राेक्ने प्रयास भइरहेकाे छ ।

राजनीतिक समस्या समाधान गर्न मुख्यमन्त्री पदबाट राजीनामा दिने अवस्था आए आफू तयार रहेको राईले  जानकारी दिए । मुख्यमन्त्री राईले थप कुरा नखुलाए पनि मुख्यमन्त्री परिवर्तनका लागि छलफल तीव्र पारिएकाे छ । एमालेका एक नेताका अनुसार राईले बिहीबार साँझसम्म राजीनामा दिएर एमालेकै अर्का नेतालाई मुख्यमन्त्री बनाउने विषयमा छलफल भइरहेको छ ।

भीम आचार्य र जीवन घिमिरेमध्ये एकलाई मुख्यमन्त्री बनाउने विषयमा छलफल भइरहेको ती नेताले जानकारी दिए ।  प्रदेश १ मा माधव पक्षका सांसदमध्ये तीन जना मात्रै एमाले केन्द्रीय कमिटीमा थिए ।

तीमध्ये आचार्य र घिमिरेले नेपाललाई साथ नदिएपछि नेपाल पक्षका सा‌ंसद राजेन्द्र राई अन्य दलसँग मिलेर मुख्यमन्त्री बन्ने दाैडमा पनि लागेका छन् । माओवादी केन्द्र र कांग्रेससँग सा‌ंसद राईले स‌वाद सुरु गरिसकेका छन् । नेपाल पक्षमा १९ जना सा‌ंसद थिए अहिले औपचारिक रूपमा भने सबै खुलिसकेका छैनन् ।

प्रदेश १ मा एमालेका ५१ जना संसद छन् । तीमध्ये नेपाल समूहले आफ्नो समूहमा १८ जना संसद रहेको दाबी गरिरहेको छ । ९२ सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका २१, माओवादी केन्द्रका १५, जनता समाजवादी पार्टीका ३, राप्रपा र संघीय लोकतान्त्रिक मञ्चका १-१ जना सांसद छन् ।

बहुमत सा‌ंसद एमालेमै रहने भएकाले माधव नेपालनिकट सा‌ंसद स‌ंसदीय दलकाे नेता चुनिने स‌म्भावना छैन । त्यसैले नेपालकाे पार्टी वैधानिक नहुँदासम्म राजेन्द्र राईको मुख्यमन्त्री बन्ने प्रयास सफल हुने सम्भावना छैन ।

यद्यपि एमालेका दुई जना सांसद मात्रै माधव नेपालको पक्षमा लागे मुख्यमन्त्री अल्पमतमा पर्ने सम्भावना हुन्छ । त्यस्ताे अवस्थामा मुख्यमन्त्रीले विश्वासकाे मत लिनुपर्ने हुन्छ । त्यसपछि भने अर्काे गठबन्धनकाे सरकार बन्न सक्छ ।