काठमाडौँ – एमालेको स्थायी कमिटी बैठकले विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय गरेको छ ।
आज च्यासलस्थित तुल्सीलाल भवनमा बसेको बैठकले विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय गरेको हो । यस्तै पदाधिकारी संख्या घटाउने प्रस्ताव पनि ल्याइएको छ । एमालेमा एक अध्यक्ष, एक वरिष्ठ नेता, पाँच उपाध्यक्ष, एक महासचिव र पाँच सचिव रहने व्यवस्था छ । नवौं महाधिवेशन पछि मुलुक संघीयता संरचनामा गएकाले अञ्चल समन्वय कमिटीको ठाउँमा प्रदेश संगठन कमिटी प्रस्ताव गरिएको छ ।
एमालेको यसअघि कै स्थायी समिति बैठकले आगामी भदौ २७ र २८ गतेका लागि विधान महाधिवेशन बोलाउने निर्णय गरिसकेको छ । बैठकमा एमालेको वरिष्ठ नेता झलनाथ खनाल–माधव कुमार नेपाल समूह अनुपस्थित छ । एमालेको केन्द्रीय कमिटी बैठक आजै दिउँसो तीन बजेका लागि बोलाइएको छ ।