नगरकोटमा चारतारे ‘निगालो बुटिक रिसोर्ट’ खुल्ने – Himalayan Dainik

नगरकोटमा चारतारे ‘निगालो बुटिक रिसोर्ट’ खुल्ने


नगरकोटमा चारतारे ‘निगालो बुटिक रिसोर्ट’ खुल्ने

नगरकोट,९ साउन – प्रशिद्ध पर्यटकीय गन्तव्य नगरकोटमा ‘निगालो बुटिक रिसोर्ट प्रा.लि.’ निर्माण हुने भएको छ । नगरकोट क्षेत्रकै उत्कृष्ट होटल निर्माण गर्ने लगानीकर्ताहरुको लक्ष्य छ । २ वर्षभित्रमा निर्माण सक्ने गरी रिसोर्टको शनिबार शिलान्यास गरिएको छ ।

करिब ६८ करोड रुपैयाँ लगानीमा रिसोर्ट निर्माण गर्न लागिएको अध्यक्ष धनराज आचार्यले  जानकारी दिए । ‘अत्याधुनिक सुविधा सम्पन्न रिसोर्ट निर्माण गर्न लागेका छौं,’ उनले भने, ‘आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी रिसोर्ट सञ्चालनमा ल्याउदैछौं ।’

देश तथा विदेशका पाँचतारे रिसोर्टमा व्यवस्थापनको उच्च तहमा रहेर काम गरिसकेका अशोक थापा प्रवन्ध निर्देशक भएर रिसोर्टमा आबद्ध छन् । ११ रोपनी जग्गामा निर्माण हुने रिसोर्टमा ६६ रूम हुनेछन् । रिसोर्टमा स्विट, सुपर डिलक्स र डिलक्स गरी ३ प्रकारका रुम रहने प्रवन्ध निर्देशक थापाले जानकारी दिए । ‘पाँचतारे रिसोर्टमा हुने सम्पूर्ण सेवा सुविधा रिसोर्टमा उपलब्ध हुनेछ,’ उनले भने । स्विमिङ पुल, स्पा, थिएटर, क्यारोकी, जेम्बोरी लगायतको सेवा उपलब्ध हुनेछ । साना ठूला गरी रिसोर्टमा ५ हल रहने थापाले बताए ।

सनराइज र सनसेट दृश्यावलोकन गर्नका लागि रिसोर्ट परिसरमा भ्यु टावर निर्माण गरिने बताइएको छ । रिसोर्टको मुख्य भवनको छैटौं तलामा बन्ने भ्यु टावरबाट ३६० डिग्रीमा दृश्यावलोकन गर्न सकिनेछ । सम्पूर्ण निर्माणकार्य सकी २०२३ जुलाईबाट सेवा सुरु गरिने थापाले जानकारी दिए ।

पर्यटकलाई आकर्षित गर्ने गरी रिसोर्टका संरचनाहरु निर्माण गरिने अध्यक्ष आचार्यले बताए । ‘यहाँ आएका पर्यटक २ दिनसम्म सजिलै भुल्नसक्ने गरी सुन्दर संरचनाहरु निर्माण हुनेछ,’ उनले भने । नगरकोट धेरै पर्यटकको रोजाईमा पर्ने गरेको बताउँदै आचार्यले रिसोर्ट निर्माण भएपछि पर्यटकको संख्या अझै बढ्ने विश्वास व्यक्त गर्छन् ।