काठमाडौँ, ७ वैशाख – आज चैते दशै मनाइँदै छ ।प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशै नेपालीले घर-घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउने गरिन्छ ।
चैते दशैंमा अष्टमी र नवमीलाई विशेष रुपमा मनाउने गरिन्छ। अष्टमीको दिनलाई चैते दशैं र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीको ज्येष्ठ सुपुत्रका रुमपा श्रीरामको जन्म भएकाले रामनवमीका रुपमा मनाउने गरिन्छ।विगत वर्षमा चैते दशैं पर्वका अवसरमा बिहानैदेखि देशभरका शक्तिपीठमा भक्तजनको भीड लाग्छ। गत वर्षजस्तै यस वर्ष पनि कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले पाँच जनाभन्दा बढी उपस्थित नहुन आदेश जारी गरेकाले दूरी कायम गरेर दर्शनको व्यवस्था गरिने जनाइएको छ।मन्दिर जान नसक्नेले घरबाटै मानसिक रुपमा दर्शन गर्न सकिने धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले बताउनुभयो।
‘वेदमा ‘सर्वतः आत्मानम्ं गोपायेत्’ अर्थात् सबैभन्दा पहिले आफ्नो शरीरको रक्षा गर भन्ने वचन रहेकाले महामारीको संक्रमणबाट बच्न घरमै पूजा आराधनाका काम गर्न सकिन्छ’ उहाँको भनाई छ ।