काठमाडौँ,५ वैशाख – धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार ३५.८९ विन्दुले घटेर दुई हजार ६९९.५१ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.२९ ले घटेर ४८६.१६ मा ओर्लेको छ । कूल २०७ कम्पनीको एक करोड ९५ लाख २८ हजार ६५६ कित्ता शेयर रु आठ अर्ब ८० करोड १८ लाख तीन हजार २१५ मा खरिद बिक्री भए । आजको कारोवारपछि बजार पूँजीकरण रु ३७ खर्ब ३७ अर्ब ८२ करोड नौ लाख १० हजार बराबरमा रहेको छ ।
कारोवार भएका कूल १३ उपसमूहमध्ये आज सामूहिक लगानी कोषको मात्रै शेयर उकालो लागेको छ । सो उपसमूहको ०.०६ विन्दुले बढेको छ । यस्तै, बैंकिङ ३३.२९, व्यापार १२५.३९, होटल तथा पर्यटन ९२.७९, विकास बैंक ४८.३, जलविद्युत् ३२.३८, वित्त १६.०६, निर्जीवन बीमा १८३.१९, उत्पादन ६७.८६, अन्य २१.०१, लघुवित्त ५०.३२, जीवन बीमा ११६.६२ र लगानी ०.४६ विन्दुले ओरालो लागेको छ ।
नेप्सेका अनुसार महिला लघुवित्त ९.९३, ज्योति लाइफ इन्स्योरेन्स ९.९१, दिव्यश्वरी हाइड्रोपावर ९.४५, नेपाल हाइड्रो डेभलपर ९.०३, एआरएन इन्फ्रास्टकचर ५.८६, जोशी हाइड्रोपावर ५.०७, अरुण काबेली पावर ४.४६, युनियन हाइड्रोपावर २.९९ र एचआइडिसिएलका लगानीकर्ताले २.९३ प्रतिशतले कमाए ।
त्यस्तै, गुडविल फाइनान्स ५.०९, कर्णाली डेभलपमेन्ट बैंक ४.६३, सांग्रिला डेभलपमेन्ट बैंक ४.४५, ज्योति विकास बैंक ४.२६, मल्टिप्रर्पोज फाइनान्स कम्पनी ४.२४, ग्रीन डेभलपमेन्ट बैंक ३.९२ र गुह्यश्वरी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ३.५४ प्रतिशतले गुमाए ।