अर्थसमितिमा कृषि तथा दुग्धजन्य उत्पाद तथा बिक्री वितरकका समस्यामा छलफल – Himalayan Dainik

अर्थसमितिमा कृषि तथा दुग्धजन्य उत्पाद तथा बिक्री वितरकका समस्यामा छलफल


अर्थसमितिमा कृषि तथा दुग्धजन्य उत्पाद तथा बिक्री वितरकका समस्यामा छलफल

काठमाडौं, २९ वैशाख – लकडाउनका कारण किसानले उत्पादन गरेको कृषि वस्तु कालिमाटी तरकारी बजारमा विक्री गर्न नसकिएको साना किसान सहकारी संगठनहरुले बताएका छन् । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको सोमबारको बैठकमा साना किसान विकास लघुवित्त वित्तीय संस्थाका अध्यक्ष खेम बहादुर पाठकले किसानले उत्पादन गरेको वस्तु कालिमाटी तरकारी बजारमा विक्री गर्न नसकेको गुनासो गरेका हुन् । उनले कालिमाटी तरकारी बजारमा ८ बजे भित्र विक्री गर्न नसके किसानले आफ्नो तरकारी घर फिर्ता गर्नुपर्ने अवस्था रहेको बताए ।

उनले भने,‘काठमाडौंमा हामी आफैले गाडी ल्याएर पनि विक्री वितरण गरिराखेका छौं । तर कति चाहिं यहि विक्री गर्न नसकेर, ८ बजे भित्र विक्री गर्न सकेन भने त्यो आधा गाडि नै फर्काएर घर लैजानुपर्ने अवस्था छ । यहाँ सहकारीको किसानले ल्याएर डोको विसाउने ठाउँ छैन् । यसपालि यति दुख गरियो मन्त्री ज्यूलाई स्वयं कालिमाटी लगेर उभ्याउँदाखेरी पनि केही लागेन् । त्यो बजार त ४/५ सय मान्छेले कब्जा गरेर बसेको छ हामी अरु कोही छिर्न पाउँदैनौं ।’

लकडाउनले तरकारी विक्री नभएपछि किसानले सबै सित्तैमा दिनुपर्ने अवस्था आएको समेत अध्यक्ष पाठकले बताए । उनले किसानले दुख गरेर उत्पादन गरेको चिज बजार सम्म ल्याएर कमसेकम मूल्य पाउने वातावरण सिर्जना गर्ने विषयमा छलफल चलाउन समितिलाई आग्रह समेत गरे ।

तरकारी तथा फलफुल संघका अध्यक्ष विनोद पराजुलीले कालिमाटी तरकारी बजारमा किसानहरु द्धारा सञ्चालित सहकारीको पहुँच नभएको गुनासो गरे । आफुहरुले सरकारसँग माग राखेपछि ९ प्रतिशत स्टल पाउने सहमति भएपनि त्यहिंको व्यापारीहरुको सहकारीको कब्जा रहेको उनले बताए ।

उनले भने, ‘कालिमाटीमा तरकारी फलफुलले ठाउँपाउनुपर्छ भन्ने खालको कुराहरु हामीले माग राख्यौं, र पछिल्लो समयमा त्यहाँ सबै सटर मध्ये ९ प्रतिशत सहकारी समुहलाई दिने भनिएको छ तरपति त्यहिंका व्यापारीक समुह मिलेर समुह सहकारीको नाउँबाट त्यो सञ्चालन भइराखेको छ । अहिले उत्पादनमा संलग्न भएर बजारीकरण गर्न खोजीरहेका सहकारी संस्थाहरुले त्यो ठाउँ कालिमाटीको पाउन सकेको अवस्था छैन् ।’ उनले कालिमाटीमा ठाउँ पाउन नसकेपछि आफुहरु अन्यत्र ठाउँ खोज्न बाध्य भएको समेत बताए ।

कृषि क्षेत्रको विकासका लागि प्रत्येक प्रदेशमा आधुनिक बहुउद्देशीय नर्सरी कम्तिमा एकवटा बनाउनै पर्ने अध्यक्ष पाठकले बताए । किसानलाई सबैभन्दा पहिला गुणस्तरीय बीउको समस्या हुने भएकाले त्यसको समाधानका लागि प्रत्येक प्रदेशमा एक÷एक वटा बीउ उत्पादन गर्ने नर्सरी आवश्यक उनले रहेको बताए ।

कृषि सहकारी संघका अध्यक्ष खेम पाठकले दूध र कृषि सामग्री बोक्ने गाडीलाई भन्सार छुटको व्यवस्था गर्नुपर्ने सुझाव दिए । तरकारी तथा फलफूल संघका अध्यक्ष विनोद पराजुलीले फलफूलको भण्डारणका लागि शीत भण्डारको आवश्यकता रहेको बताए ।

केन्द्रीय दुग्ध सहकारी संघका कोषाध्यक्ष कृष्णप्रसाद सापकोटाले दूधबाट पाउडर बनाउने उद्योग पर्याप्त मात्रामा नहुँदा लकडाउनका बेला दूधको उपयोग गर्न समस्या भएको बताउँदै दैनिक ६ लाख लिटर दूध संकलन हुनुपर्नेमा अहिले तीन लाखमात्र भएको हुँदा दूधबाट पाउडर बनाउने उद्योग स्थापना गर्नुपर्नेमा जोड दिए । उनले भैँसी र गाईपालनका लागि छुट्टै पकेट क्षेत्र घोषणा गनुपर्ने बताए ।