एनआरएनद्वारा अलपत्र नेपालीको उद्धारका लागि २० करोड ‘सिडमनी’ को माग – Himalayan Dainik

एनआरएनद्वारा अलपत्र नेपालीको उद्धारका लागि २० करोड ‘सिडमनी’ को माग


एनआरएनद्वारा अलपत्र नेपालीको उद्धारका लागि २० करोड ‘सिडमनी’ को माग

काठमाडौं, २८ वैशाख  – गैरआवासीय नेपाली संघ (एनआरएनए)ले कोभिड–१९ बाट अलपत्र नेपालीहरुको उद्धारका लागि सरकारसँग २० करोड मागेको छ । एनआरएनले कोरोना प्रभावित मध्यपूर्वी मुलुकमा रहेका नेपालीको अवस्थाका बारेमा जानकारी लिएको जनाएको छ ।

एनआरएनको मध्यपूर्व क्षेत्रका प्रतितिधि र नेपाली नियोगका प्रतिनिधि सहभागी ‘भर्चुअल’ बैठकमा कोभिड–१९ का कारण प्रभावित नेपालीको वर्तमान अवस्थाका बारेमा छलफल भएको थियो । बैठकमा बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले सकारात्मक सूचना सम्प्रेषण गरी नेपालीको मनोबल उच्च बनाउन सबैले भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।

कतारका लागि नेपाली राजदूत नारद भारद्वाजले नेपाल सरकारले प्राथमिकता क्रम छुट्याई नेपाल जानै पर्ने अवस्थाका नेपाली नागरिकलाई नेपाल लैजाने तयारी गरिरहेको जानकारी दिएका थिए कोरोनाका कारण कति समयसम्म अन्तर्राष्ट्रिय उडान रोकिन्छ भन्ने यकिन नभएकाले सो अवधिसम्म धैर्य गर्न उनले आग्रह गरे ।

सङ्घका अध्यक्ष कुमार पन्तले मध्यपूर्वमा रहेका नेपाली कामदारको स्वास्थ्यलाई लिएर आफूहरु अत्यन्तै चिन्तित रहेको भन्दै महामारीबाट बच्न सबैको सहयोगको खाँचो औंल्याए । संघ उपाध्यक्ष बद्री केसीले नेपाली कामदारको उद्धारका लागि रु २० करोडसम्मको ‘सिड मनी’को व्यवस्था गर्न नेपाल सरकारलाई प्रस्ताव गरिएको बताए ।

संघ वैदेशिक रोजगार समितिका संयोजकसमेत रहेका केसीले विदेशमा अलपत्र परेका ११२ नेपालीको शव नेपाल लैजान तत्कालै कदम चाल्नुपर्नेमा जोड दिएका थिए ।