काठमाडौँ, २८ वैशाख – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले भारतले सीमा विवाद कूटनीतिक ढंगबाट समाधान गर्न नचाहेमा नेपालले त्यसविकल्प खोज्नुपर्ने बताउनुभएको छ ।
भारतले नेपालको लिपुलेक भएर चीनको तिब्बतस्थित मानसरोवर जाने सडक निर्माण गरेको विषयमा छलफल गर्न आयोजित प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समिति बैठकमा दाहालले सकेसम्म कूटनीतिक र उच्च राजनीतिक तहबाट समस्या समाधान हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भारतले लिपुलेक भएर चीन जाने सडक निर्माण गरेसँगै सीमा विवादमा चीन पनि जोडिन आइपुगेको बताउनुभयो ।
लिपुलेकलाई त्रिदेशीय व्यापारिक नाका बनाउन सकिने बताउँदै उहाँले भन्नुभयो, ‘उच्च राजनीतिक र कूटनीतिक माध्यमबाट समस्या समाधान नहुने हो भने के गर्ने भन्ने निष्कर्षमा नेपाल पुग्नुपर्छ । लिपुलेकको अहिलेको समस्यापछि यो सीमा समस्या त्रिदेशीय बन्न गएको छ । भारत र चीनबीच व्यापारिक सम्झौता भएको हुनाले पनि यो त्रिदेशीय बन्न पुगेको हो ।’
नेपाल भारत सीमा समस्या अहिलेको नभई विगतको लामो इतिहासदेखी नै भएकाले त्यसलाई कुटनीतिक पहलबाट नै समाधान गर्नुपर्नेमा जोड दिँदै उहाँले अहिले नै अन्तर्राष्ट्रिय अदालतमा लगिहाल्ने बेला भयो कि भएन भनि सोचेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । भारतले विवगतदेखि नै लिपुलेक, लिम्पियाधुरा र कालालापानी आफ्नो नक्सामा राख्दै आएकोमा सुगौली सन्धियता नेपालमा रहेको भूमागलाई फिर्ता ल्याउन पहल हुनुपर्ने बताउँदै उहाँले नेपाल सरकारले अब पत्र लेख्ने मात्रै नभइ निर्णायक पहल गर्नुपर्ने बताउनुभयो ।