चिनियाँ नागरिकले नेपालको कानुन पालना गर्नू, धैर्यपूर्वक बस्नू : राजदुत यान्छी – Himalayan Dainik

चिनियाँ नागरिकले नेपालको कानुन पालना गर्नू, धैर्यपूर्वक बस्नू : राजदुत यान्छी


चिनियाँ नागरिकले नेपालको कानुन पालना गर्नू, धैर्यपूर्वक बस्नू : राजदुत यान्छी

काठमाडौँ, २७ वैशाख – नेपालका लागि चिनिया राजदुर होउ यान्छीले नेपालमा रहेका चिनिया नागरिकले नेपालको कानुन पालना गर्न आग्रह गर्दै धैर्यतापूर्वक बस्न अपिल गर्नुभएको छ ।

विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारले लकडाउनको घोषणा गरेकोले त्यसलाई पालना गर्दै चिनियाँ नागरिकहरुलाई अनावश्यक बाहिर ननिस्किन र अन्तर्राष्ट्रिय उडानमाथि लगाइएको प्रतिबन्ध खुला नहुँदासम्म धैर्यतापूवर्क बस्न राजदुत यान्छीले आग्रह गर्नुभएको छ ।

आफूहरुलाई स्वदेश फर्काउन माग गर्दै शुक्रबार सिंहदरबारको मुख्य गेट अगाडि प्रदर्शनमा उत्रिएका केही चिनियाँ नागरिकहरुले नेपाल प्रहरीमाथि हातपात गरेका थिए । नेपाल प्रहरीमाथि चिनियाँ नागरिकले गरेको हातपातको घटना पूर्णरुपमा सुल्झाइएको चिनियाँ दूतावासले दाबी गरेको छ ।

सो घटनाको सन्दर्भमा प्रेस नोट जारी गर्दै दूतावासले कोरोना महामारीको कठिन अवस्थामा नेपाल र चीनले एकअर्कालाई राम्रोसँग बुझ्ने र लकडाउनको कारण उत्पन्न हुने विभिन्न घटनाहरुलाई संयुक्तरुपमा समाधान गर्ने जनाएको छ ।

प्रेस नोटमा लेखिएको छ, ‘चिनियाँ पक्षले सधैं नेपालमा रहेका आफ्ना नागरिकले कडाइका साथ नेपालको नियम पालनाको माग गर्दै आएको छ । साथै आफ्ना उचित मागहरु तर्कसंगत र कानुनी हिसाबमा व्यक्त गर्न पनि भन्दै आएको छ । कोरोना भाइरस ९कोभिड–१९० को महामारी नियन्त्रणको लागि नेपाल सरकारले लकडाउन गरेको समयमा चिनियाँ दूतावासले आफ्ना नागरिकहरुलाई बारम्बार सरकारको नियममा सहकार्य गर्न सम्झाउँदै आएको छ । अनावश्यक बाहिर ननिस्किन र उडानमाथि लगाइएको प्रतिबन्ध खुला नहुँदासम्म धैर्यतापूर्वक बस्न आग्रह गर्दै आएको छ ।’

चिनियाँ दूतावासका अनुसार यसअघि चिनियाँ दूतावासले नेपाल सरकारसँग सहकार्य गरेर ३४० जनालाई चीन फिर्ता लगेको थियो । नेपालले अन्तर्राष्ट्रिय उडान मे ३१ सम्म स्थगित गरेको र सीमित उडान क्षमताको कारण धेरै चिनियाँ नागरिकहरु अहिले पनि नेपालमा फसेका छन् । उनीहरुलाई पनि स्वदेश फर्काउन नेपाली पक्षसँग सम्पर्क कायम राख्ने काठमाडौँस्थित चिनियाँ दूतावासले जनाएको छ ।