बन्यो कोरोना भाइरसलाई शरीरमै निष्क्रिय पार्ने एन्टिबडी – Himalayan Dainik

बन्यो कोरोना भाइरसलाई शरीरमै निष्क्रिय पार्ने एन्टिबडी


बन्यो कोरोना भाइरसलाई शरीरमै निष्क्रिय पार्ने एन्टिबडी

काठमाडौं, बैशाख २४ – विश्वभर कोरोना भाइरसले त्रसित बनाइरहेको बेला इजरायलले यस्को औषधी तयार पारेको दावी गरेको छ । इजरायलको बायोलोजिकल रिसर्च संस्थानले कोरोना भाइरसको उपचारका लागि महत्वपूर्ण उपलब्धि हात पारेको घोषणा गरेको हो ।

इजरायलका रक्षामन्त्री नाफ्ताली बेन्नेटले ‘हानिकारक प्रोटिन प्रयोगविनाकै एन्टिबडीको विकास गरिएको र यसले संक्रमितको शरीरभित्र कोरोना भाइरसलाई निष्क्रिय अथवा अप्रभावी बनाउने’ बताउनु भयो । इजरायली समाचार एजेन्सीहरुका अनुसार जनावर र मानिसमा प्रयोग नगरिए पनि यो एन्टिबडीले तीन मापदण्ड पूरा गरेको छ, जसकारण परीक्षणअगावै यसलाई आशालाग्दो मानिएको छ । संस्थानका निर्देशक श्मुएल शापिराले अहिले एन्टिबडी बनाउने पद्धति अर्थात प्याटेन्ट संस्थानको नाममा गर्न लागिएको बताउनु भयो । यसबीच एन्टिबडी बनाउने तरिका कुनै ठूलो विदेशी उत्पादकलाई हस्तान्तरण गर्ने पनि उहाँको भनाई छ ।

कुनै पनि नयाँ आविष्कार हुँदा आविष्कारकर्ताको नाममा प्याटेन्ट दर्ता गरिन्छ । त्यसपछि आविष्कारकर्ताले सधैँभरि मुनाफाको निश्चित फाइदा पाउने गर्छ । शरीरमा कोरोना भाइरस नष्ट भइसकेपछि बचेको प्रतिरक्षात्मक प्रोटिनको प्रयोग गरेर यो एन्टिबडीको विकास गरिएको हो । यसकारण पनि इजरायलले विकास गरेको एन्टिबडी प्रभावकारी हुन सक्ने बिश्वास गरिएको छ ।

त्यस्तै यो एन्टिबडी मानोक्लोनल अर्थात कोरोना भाइरस जितेको एउटै कोषबाट लिइएको हो, यसबाट पनि एन्टिबडीको प्रभावकारिता बढी देखिएको छ । मानोक्लोन एन्टिबडी क्यान्सरको उपचारका लागि समेत प्रयोग हुन्छ । यो एन्टिबडी सबैभन्दा बढी आक्रामक आनुवंशिक अवस्थाको कोरोना भाइरसविरुद्ध परीक्षण गरिएको थियो । संस्थानका अनुसन्धानकर्ताहरूले माथिका तीन अवस्थालाई पछ्याउँदै विश्वमै पहिलोपटक यो एन्टिबडीको विकास गरिएको दाबी गरेका छन् । यसैबीच इजरायलकै मिगभ्याक्सले आफूहरू कोरोना भाइरसविरुद्धको खोप विकासको नजिक पुगेको दाबी गरेका छन् । सो कम्पनीले एक करोड २० लाख डलरभन्दा बढी लगानी खोप विकासका लागि छुट्याएको जनाएको छ ।