मस्को, २३ वैशाख – रसिया कोरोना भाइरसको नयाँ हटस्पट बन्दै छ । यसै क्रममा तीन जना डाक्टरहरु अस्पतालबाट खसेका छन् । रहस्यमय तरिकाले अस्पतालको झ्यालबाट खसेका २ जना डाक्टरहरुको मृत्यु भइसकेको छ भने एकजना उपचारका लागि भर्ना भएका छन् । २ हप्ताको अवधिमा उनीहरु फरक फरक २ अस्पतालको झ्यालबाट खसेको जनाइएको छ ।
आफैं कार्यरत अस्पतालको झ्यालबाट रहस्यमयी तरिकाबाट खसेका उनीहरुले आत्महत्या गरेको हो वा दुर्घटना भएको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको सीएनएनले जनाएको छ ।
रसियामा पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या एक्कासी बढेपछि अस्पतालहरुमा उपचारका लागि आउनेहरुको संख्या बढेको छ । रसियामा उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई पीपीइको अभाव भएको समाचार यसअघि प्रकाशित भइसकेको छ । त्यसैले पनि डाक्टरहरुले कोरोना महामारीको पीडा सहन नसकेर आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ ।
मस्कोदेखि ३ सय २० माइल दक्षिणस्थित एक अस्पतालमा एम्बुलेन्स डाक्टरका रुपमा कार्यरत एक डाक्टर अप्रिल २२ मा अस्पतालको झ्यालबाट खसेको जनाइएको छ । त्यस्तै अर्की एक डाक्टर अप्रिल २४ र मे १ मा गरि तीन जना डाक्टरहरु अस्पतालबाट खसेको जनाइएको छ ।
पछिल्ला दिनमा रसियामा दैनिक १० हजार भन्दा बढी संक्रमित देखिन थालेको छ । हालसम्म १ लाख ४५ हजार भन्दा बढी संक्रमित देखिएको रसियामा अन्य देशको तुलनामा मृतक भने कम रहेको छ ।
पछिल्लो २४ घन्टामा रसियामा १० हजार ५ सय ८१ जना नयाँ संक्रमित देखिएका छन् भने ७६ जनाले ज्यान गुमाएका छन् । हालसम्म रसियामा ४३ लाख मानिसमा कोरोना परिक्षण गरिएको पनि जनाइएको छ ।