काठमाडौँ, २१ वैशाख – कोरोना संक्रमण निको भएर घर फर्केका युवकको रिपोर्ट शंकास्पद देखिएपछि फेरि आइसोलेसन भर्ना भएका छन् ।
गत वैशाख एकदेखि नारायणी अस्पतालको आइसोलसन वार्डमा उपचार गराइ निको भएर घर फर्केका रौतहटका इशनाथ नगरपालिकाका १९ वर्षीय युवकको रिपोर्ट शंकास्पद देखिएपछि उनलाई फेरि आइसोलेसन भर्ना गरिएको हो । उनलाई शनिबार राति करिब साढे ७ बजेको समयमा नारायणी अस्पतालको आइसोलेसन वार्डमा ल्याइएको हो ।
अस्पतालका अनुसार वैशाख १० र १३ मा कोभिड–१९ परिक्षण नेगेटिभ आएपछि वैशाख १४ मा डिस्चार्ज गरिएको थियो । कोरोना नेगेटिभ पाइएपछि अस्पतालले डिस्चार्ज गरेपछि ती युवक एक सातादेखि घरमा आफन्तसँग बस्दै आएका थिए । नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले रौतहटका युवकमा थप परीक्षण गर्नुपरेकाले आइसोलेसन वार्डमा ल्याइएको बताए ।
अस्पताल स्रोतका अनुसार डिस्चार्ज भएका ती युवकको थ्रोट स्वाब रि–चेक हुँदा पोजिटिभ आएको थियो । ‘डिस्चार्ज भएको दुई दिनपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट जानकारी आयो कि रौतहटका युवकको फेरि थ्रोट स्वाब संकलन गरी पठाउनू,’ नाम उल्लेख नगर्ने सर्तमा स्रोत भन्छ, ‘स्वाब लिन उनको गाउँमै पुगेको टोलीले ती युवकसहित परिवारका १३ जनाको स्वाब लिएको थियो ।’स्रोतका अनुसार ती युवकका परिवारका अन्य सदस्यको रिपोर्ट नेगेटिभ आएको छ ।
तीन भारतीय मुस्लिम धर्म प्रचारक र ती युवक गत आइतबार निको भएर नारायणी अस्पतालबाट डिस्चार्ज भएका थिए ।