प्रेसको स्वतन्त्रता कुण्ठित गर्ने खतरा बढ्यो : सभापति देउवा – Himalayan Dainik

प्रेसको स्वतन्त्रता कुण्ठित गर्ने खतरा बढ्यो : सभापति देउवा


प्रेसको स्वतन्त्रता कुण्ठित गर्ने खतरा बढ्यो : सभापति देउवा

काठमाडौँ, २१ वैशाख – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को महामारीको मौका हेरेर प्रेसको स्वतन्त्रता कुण्ठित गर्ने खतरा बढेको आरोप लगाउनुभएको छ ।

विश्व प्रेस स्वतन्त्रता दिवसको उपलक्षमा पत्रकार तथा मिडियाकर्मीहरूप्रति शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले नेपालमा पछिल्लो समय प्रेस स्वतन्त्रता कुण्ठित गर्ने प्रयास भइरहेको बताउनुभएको छ ।

उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ, ‘लोकतान्त्रिक ब्यवस्थामै स्वतन्त्र प्रेस संभव हुन्छ भन्ने विश्वास राख्ने संचारकर्मीहरुले विभिन्न कालखण्डमा जो जसले सहादत दिनु भयो ती सबैलाई आजको मितिमा बिशेष श्रद्धा साथ स्मरण गर्न चाहन्छु ।’

यस वर्ष युनेस्कोले तय गरेको नारा ‘भयमुक्त र पक्षपातरहित पत्रकारिता’ अनुरूप नै नेपाली पत्रकार र मिडियाले काम गर्न पाउने वातावरण निर्माण गर्ने दायित्व सरकारको रहेको बताउँदै देउवाले त्यसका लागि खबरदारी गर्ने भूमिका प्रतिपक्षको रहेको स्पष्ट पार्नुभएको छ ।

उहाँद्वारा जारी सन्देशमा भनिएको छ, ‘प्रश्न र आलोचनाको संवैधानिक हक बोकेको मिडियालाई त्यही दायित्व निर्वाह गर्दा हामी कसैले पनि नकारात्मक दृष्टी राख्न मिल्दैन । प्रेसको प्रश्नले आफू बदलिने कि उल्टै प्रेसका विरुद्ध अभिव्यक्ति दिने र द्वेष राख्ने रु वर्तमान सरकार र यसको नेतृत्वले बारम्बार प्रेसका विरुद्ध दिएका अभिव्यक्ति र ब्यवहार सच्याउन आजको यो विशेष दिनमा म सार्वजनिक रुपले अपील गर्न चाहन्छु ।’

सभापति देउवाले कोरोना संकटबाट समग्र प्रेस जगतमा उत्पन्न चुनौती न्यून गर्न पत्रकार र संचारमाध्यमका लागि विशेष राहत योजना निर्माण गर्न सरकारसंग आग्रह गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘महामारीको मौका हेरेर प्रेसको स्वतन्त्रता कुण्ठित गर्ने खतरा बढेको छ । यसका केही संकेत सरकारका अभिव्यक्ति र ब्यवहारमा देखिएका छन् । संसदमा सरकारले पेश गरेका प्रेस विरोधी विधेयक त छंदैथिए, लक डाउनको बेला मिडियामा हस्तक्षेप, दबाब र स्पष्टीकरणको सत्ता संक्रमण बढेको छ । लोकतन्त्रको पहरेदारका रूपमा रहेको मुलुकको चौथो अंग माथि कुनै पनि ढंगले नियन्त्रण गर्न खोज्ने हर्कत अस्विकार गर्दै नेपाली कांग्रेस सदैव त्यस विरुद्ध प्रखर रुपले उभिने छ ।’