६ एम्बुृलेन्समा कोरोनाका बिरामी ल्याएपछि स्थानीयमा भागदौड, स्वास्थकर्मी आत्तिए – Himalayan Dainik

६ एम्बुृलेन्समा कोरोनाका बिरामी ल्याएपछि स्थानीयमा भागदौड, स्वास्थकर्मी आत्तिए


६ एम्बुृलेन्समा कोरोनाका बिरामी ल्याएपछि स्थानीयमा भागदौड, स्वास्थकर्मी आत्तिए

भक्तपुर, २० वैशाख  – मध्यपुर थिमी नगरपालिकाले संचालन नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा खरिपाटीस्थित क्वारेन्टाइनबाट कोरोना प्रमाणित आठ जना र शंकास्पदसहित १७ बिरामी आउदैछन्, तयारी गर्नुस् भन्ने फोन आयो ।

६ वटा भेण्टिलेटरसहित १६ शैय्याको आइसोलेसन वार्ड तयारी अबस्थामा राखेको अस्पतालमा अकस्मात एकैपटक यतिधेरै कोरोनाको विरामी आउन लागेको खबरले स्वास्थ्यकर्मीमा एक्कासी हल्लीखल्ली मच्चियो । सबै पिपिई लगाएर सुरक्षितका साथ तयारी भए ।

त्यसको आधाघण्टामै साइरन बजाउदै लाईनले ६ एम्बुलेन्स एकैपटक आयो । अस्पताल आसपासका बासिन्दामा एकैपटक त्रासरी मच्चियो । लाईन लागेका एम्बुलेन्समा कोरोनाका विरामी ल्याएको हल्ला चल्ने बित्तिकै बाहिर र बाटोमा भएका स्थानीय आत्तिदै घरभित्र पसे, कोही कौशीमा जम्मा भएर अस्पतालको रमिता हेर्न थाले, कोही झ्यालबाट चिहाउन थाले ।

अस्पतालमा एकैपटक यतिधेरै एम्बुलेन्स र विरामी आएपछि स्वास्थ्यकर्मी एकछिन आत्तिए, के गरौ के नगरौ भए । एम्बुलेन्स भित्र कोही अइर््या, आत्थु गर्दै कराईरहेका, हाछिुयू र खोकीरहेका, स्वाँस्वाँ गरेका विरामी देखेर अन्यौलमा परेका स्वास्थ्यकर्मीको टोली अलमललाई छेड्दै कोही शरीरको तापक्रम नाप्न थाले, कोही ट्रली र ह्वील चियर ल्याउन थाले, कोहीलाई आईसोलेसन वार्डमा लैजान थाले ।

दुईवटा एम्बुलेन्स आकस्मिक कक्ष अगाडि रोकिएपछि त्यतै लैजान थालियो । एम्बुलेन्सबाट विरामी ओराल्न सुरक्षा गार्डदेखि कर्मचारीले पनि साथ दिए । पछि कोरोनाको विरामी भन्ने थाहापाए पछि उनीहरु हच्किए ।

कोरोना पोजेटिभ भएका, शंकास्पद व्यक्तिदेखि हात भाँचिएर ल्याएको विरामीलाईसमेत आइसोलेसनमा कक्षमा लगियो । कोही अक्सिजन दिन थाले, कोही रगत झिकेर ल्याबमा पठाउन थाले, कोही स्ल्यानपानी चढाउने तयारी गरे । कोही विरामीको रिपोर्टसहितको कागज राख्न मै अलमलिए ।

आइलोसेलनमा कोही विरामी पानी माग्दै थिए, कामज्वरो आएकाहरु जाडो भयो भनेर ब्ल्यांकेट माग्दै थिए । शौचालय गएका विरामी शौचालयमा साबुन र स्योनेटाइजर नभएको गुनासो गर्न थाले । आइसोलेसन कक्षमा एकैछिनमा भागदौड चल्यो, स्वास्थ्यकर्मींले संयमित हुदै विरामीको उपचार र मनोपरामर्श दिन थाले तर पानी र ब्ल्यांकेट आइपुगेन । आइसोलेसन कक्षमा स्वास्थ्यकर्मी बाहेकका मान्छेपनि छिर्न थाले ।

यो नाटकीय दृश्य नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखाले मध्यपुरथिमि नगरपालिकाद्दारा संचालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल थिमिमा संचालन गरेको कोरोना विरामी उपचारको कृतिम अभ्यासको हो ।

कोरोना उपचारका लागि तयारी अबस्थामा राखिएका अस्पतालका चिकित्सक, नर्स लगायतका स्वास्थ्यकर्मी र कर्मचारीलाई कुनै जानकारी नै नदिई नगरपालिका र रेडक्रसले संचालन गरेको कृतिम अभ्यास सकिएपछि जब बिरामी बेडबाट उठेर बाहिर निस्किन थाले तब छक्क परे स्वास्थ्यकर्मी । कृतिम अभ्यास मै बिरामी बनेर आएका रेडक्रसका स्वयंसेवकहरुको अभिनय कोरोनाका जटिल बिरामीभन्दा कम्ती थिएन ।

अस्पतालमा कोरोना परीक्षणका लागि आरटिसी ल्याब, एक्सरे, भेन्टिलेटर, आइसोलेशन, २० शैय्याको क्वारेन्टाइन र चिकित्सक तथा नर्ससहितको तालिम प्राप्त स्वास्थ्यकर्मी सहितको सम्पूर्ण जनशक्ति टोलीलाई कोरोना संक्रमित विरामीको उपचारका लागि तयारी अबस्थामा राखेको यो अस्पतालमा साच्चिकै कोरोना संक्रमित विरामी आएमा उपचार हुन्छ त भन्नेबारेमा जानकारी लिन र केही कमजोरी भए सुधार्न स्वास्थ्यकर्मीलाई जानकारी नै नदिई कृतिम अभ्यास गरिएको मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले बताउनुभयो ।

यो अभ्यासबाट साच्चिकै विरामी आएपछि स्वास्थ्यकर्मीको भागदौड हुन्छ कि हुदैन, विरामीले सहज उपचार पाउँछन् कि पाउँदैनन् भन्नेबारेमा जानकारी भएको र व्यबस्थापनमा केही कमजोरीसमेत देखिएकाले त्यसलाई सुधार्ने बताउनुभयो । बिरामीहरु अस्पताल ल्याउँदा चिकित्सक र स्वास्थ्यकर्मीबाट हुन सक्ने त्रुटी पत्ता लगाएर सावधानीका साथ उपचारको प्रबन्ध गर्न यो अभ्यास गरिएको उहाँको भनाई छ ।

कोभिड–१९ को महामारीलाई नियन्त्रण गर्न कोरिया नेपाल मैत्री नगरपालिका अस्पतालले बनाएको कोरोना उपचार प्रतिकार्य योजनालाई परीक्षण गर्न नेपाल रेडक्रस सोसाइटीले नेपालमा पहिलो पटक कोभिड–१९ को कृत्रिम घटना अभ्यास गरिएको नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखाका सभापति एवं राष्ट्रिय विपद तथा संकट ब्यवस्थापन समितिका सभापति मनोज थापाले बताउनुभयो । विरामीसंग स्वास्थ्यकर्मीले गर्ने व्यबहार र मनोपरामर्श निकै राम्रो पाईएको बताउदै उहाँले एम्बुलेन्समा आएको विरामीलाई कसले बाहिर निकाल्ने, आइसोलेसनसम्म कसरी लैजाने भन्नेबारेमा अझै तालिम दिनुपर्ने अबस्था रहेको बताउनुभयो ।

विरामीको भूमिका निर्वाह गरेको रेडक्रसकर्मीले कोरोनाका विरामी भनेपनि केहीलाई आकस्मिक कक्षतर्फ लगिएको, आइसोलेसनमा स्वास्थ्यकर्मीहरु आत्तिएको, पानी, ब्ल्यांकेटको व्यबस्था नभएको, आइसोलेसनमा जथाभावी मान्छे छिरेको जस्ता सामान्य त्रुटीबाहेक अस्पतालका अन्य तयारी राम्रो रहेको पाईएको बताएका थिए ।

अस्पतालका मेडिकल डाइरेक्टर डा. डि.के. रौशनले चिकित्सक एवं स्वास्थ्यकर्मीले सुरुमा एकैपटक धेरै विरामी आउँदा अलमल परेको देखिएपछि आगामी दिनमा यसलाई सुधार्दै राम्रो सेवा दिने बताउनुभयो ।

नेपालमा पहिलो पटक कोरोना उपचारको अभ्यास : रासस