तम्घास, १९ वैशाख – लकडाउनका कारण पीडितलाई यतिबेला सबै स्थानीय तहले विपन्न परिवारलाई राहत वितरण गरिरहेका छन् । गुल्मीमा पनि सबै स्थानीय तहमा पहिलो चरणको राहत वितरण सकिएको छ भने केही स्थानीय तहमा दोस्रो चरण शुरु गरिएको छ । दोस्रो चरणको राहतमा सबैजसो स्थानीय तहले दाल, चामल, तेललगायत खाद्य सामग्री वितरण गरेका छन् ।
धुर्कोट गाउँपालिकाले भने विपन्न परिवारका लागि रोजगारी दिने निर्णय गरेको छ । गाउँ कार्यपालिकाको बैठकले विपन्न तथा मजदूर परिवारका लागि खाद्य पदार्थ वितरण नगरी काम दिने र काम गरेबापत राहत दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिनुभयो ।
यसका लागि मजदूर तथा विपन्न परिवारले सम्बन्धित वडा कार्यालयमा निवेदन दिन सक्नेछन् । सडक मर्मत, गोरेटो बाटो, खानेपानी तथा सिँचाइलगायत क्षेत्रमा रोजगारी प्रदान गरिने गाउँपालिकाले जनाएको छ । काम गरेबापत राष्ट्रिय मापदण्डानुसार पारिश्रमिक प्रदान गरिनेछ । पहिलो चरणमा ७७९ जनालाई राहत वितरण गरेको गाउँपालिकाले दोस्रो चरणमा काम दिने निर्णय गरेको हो ।
कोरोना भाइरसबाट बच्न गरिएको लकडाउनलाई ध्यानमा राखी सामाजिक दूरी कायम गरेर बढीमा पाँच जनासम्मको समूह बनाएर नजीकैको स्थानमा काममा लगाइने गाउँपालिका उपाध्यक्ष शिवबहादुर खत्रीले जानकारी दिनुभयो । रासस