प्रदेश १ का जिल्ला अस्पतालमा पिपिइ अपुग १ घण्टा अगाडि – Himalayan Dainik

प्रदेश १ का जिल्ला अस्पतालमा पिपिइ अपुग १ घण्टा अगाडि


प्रदेश १ का जिल्ला अस्पतालमा पिपिइ अपुग  १ घण्टा अगाडि

काठमाडौँ,१९ वैशाख – प्रदेश नं १ का जिल्ला अस्पतालहरुमा व्यक्तिगत सुरक्षा उपकरण (पिपिइ) अपुग भएको छ । ती जिल्लाका मेडिकल सुपरीटेन्डेन्ट (मेसु)हरुले प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेसँग बिहीबार साँझको भिडियो संवादमा उक्त समस्या अवगत गराएका हुन् ।

प्रदेश सरकारबाट प्राप्त पिपिइ पर्याप्त नभएको र स्थानीयस्तरबाट व्यवस्थापन भएको पिपिइ सकिएकोे उनीहरुको गुनासो छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको अवस्थामा पिपिइको अभावले उपचार कार्यका समस्या उत्पन्न हुने उनीहरुले बताएका छन् । उनीहरुले प्रदेश सरकारले तत्काल पिपिइको व्यवस्था गर्न माग गरेका छन् ।

मेसुहरुले अस्पतालमा आकस्मिक, फिवर क्लिनिकसँगै नियमित सेवा पनि सञ्चालनमा रहेको बताउँदै विकास समितिबाट नियुक्त भएका र करारका स्वास्थ्यकर्मीलाई प्रदेश सरकारबाट प्रोत्साहन भत्ता उपलब्ध गराउन आग्रह गरेका छन् । इलाम जिल्ला अस्पतालका मेसु डा प्रमोद साहले पिपिइको अभावका बीच आफूहरुले सेवा दिइरहेको बताउनुभयो । उहाँले विदेशलगायत अन्य जिल्लाबाट आएकालाई अनिवार्य क्वारेन्टाइनमा राखिएको जानकारी दिँदै कोभिड–१९ का लागि छुट्टै एम्बुलेन्सको व्यवस्था गरिएको बताउनुभयो ।

पाँचथर जिल्ला अस्पतालका मेसु डा बुद्धिबहादुर थापाले पिपिइ, एन–९५ मास्क अभाव भएको चर्चा गर्दै आवश्यक जनशक्ति र बजेटको अभाव भएको सुनाउनुभयो । ताप्लेजुङ अस्पतालका मेसु डा सनि लामाले अस्पतालमा दरबन्दी कम भएको बताउँदै अन्य जिल्ला अस्पतालसरह सेवा दिए पनि दरबन्दी कम भएको गुनासो गर्नुभयो । जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख तथा जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष घनेन्द्र मादेनले कोभिड–१९ को व्यवस्थापनका लागि दैनिक काम भइरहेको बताउनुभयो ।

भोजपुर जिल्ला अस्पतालका निमित्त मेसु डा पवित्रा श्रेष्ठले जिल्लामा आरडिटी किटको अभाव भएको गुनासो गर्दै पिपिइ आफँै व्यवस्थापन गरेर काम चलाइरहेको छु भन्नुभयो । उहाँले जिल्लामा सङ्क्रमित बढेमा पिपिइ अभाव हुने जानकारी दिनुभयो । सोलुखुम्वु जिल्ला अस्पतालका निमित्त मेसु सोनु शेर्पाले अस्पतालमा एम्बुलेन्स नहुँदा बिरामीलाई उपचारका लागि ल्याउन र लैजान समस्या भएको बताउँदै अस्पतालमा सवारी साधन व्यवस्थाका लागि आग्रह गर्नुभयो ।

ओखलढुङ्गा र धनकुटा जिल्ला अस्पतालका मेसु डा सन्तोष देव र पुजन विश्वकर्माले पिपिइ र एन–९५ मास्कको अभाव रहेको गुनासो गर्दै सबै स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ताको व्यवस्था गर्न माग गर्नुभयो । सुनसरी जिल्ला अस्पतालका मेसु डा सन्तोष राईले अस्पतालले नियमितरूपमा थ्रोट स्वाब सङ्कलन, फिवर क्लिनिक र मोबाइल क्लिनिक सञ्चालन गरिरहेको तर पिपिइ अभाव रहेको बताउनुभयो । मेची अस्पतालका मेसु पिताम्वर ठाकुरले आइसोलेसनमा रहेका बिरामीका लागि खाना खर्चको समस्या रहेको गुनासो गर्नुभयो । रासस