रोल्पा, १८ वैशाख – रोल्पाको त्रिवेणी गाउँपालिकामा भएको विस्फोटमा चार बालबालिकाको मृत्यु भएको छ। त्रिवेणी गाउँपालिका वडा नं. ७ का गैरीगाउँका ४ जना बच्चाहरुको मृत्यु भएको गाउँपालिका अध्यक्ष शान्तराम ओलीले बताए ।
ओलीका अनुसार मृतक ३ जना बालक र एक बालिका रहेका छन् । उनले घटनामा १४, १३, ११ वर्षका ३ बालक र ५ वर्षकी बालिकाको मृत्यु भएको बताए । घटनामा मृत्यु हुनेमा नोखीराम डाँगी, गौरव नेपाली, विजय केसी र बिमला केसी रहेको पनि अध्यक्ष ओलीले बताए ।
उनले बिजय र बिमला एकै घरका दाजु बहिनी भएको बताए । ‘यहाँ दर्दनाक स्थिति छ, दाजुले बहिनी बोकिरहेकै अवस्थामा मृत्यु भएको छ,’ ओलीले बताए । बालबालिकाले नचिनेर पुरानो बम खेलाउने क्रममा विष्फोट भएको अध्यक्ष ओलीले बताए ।
सोही क्रममा अर्को विष्फोट नभएको बम पनि घटनास्थल नजिकै भेटिएको पनि उनले बताए । घटनाबारे विस्तृत विवरण केही बेरमै आउने प्रहरीले बताएको छ ।