काठमाडौँ, १७ वैशाख – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर सांसदहरुले हस्ताक्षर संकलन सुरु गरेका छन् ।
अध्यक्ष पद नछाडे प्रधानमन्त्रीबाट पनि हटाउने तयारी भएको भन्दै ओली पक्षले संसदीय दलमा बहुमत सांसदको समर्थन जुटाउन संघीय संसदका सदस्यहरुको हस्ताक्षर संकलन सुरु भएको हो । सचिवालय बैठकको पूर्वसन्ध्यामा प्रधानमन्त्रीनिवास बालुवाटारमा बुधवार पनि ओली पक्षीय सांसदहरुको भेला भएको छ । राजधानी बाहिर रहेका सांसदहरुलाई पनि काठमाडौँ ल्याइँदैछ ।
बुधबार साँझ ५ बजे बोलाइएको सचिवालय बैठकमा स्थायी कमिटी बैठकको प्रस्ताव आउने भएकाले ओलीले संसदीय दलमा बहुमत जुटाएर दलको बैठक बोलाउन प्रस्ताव लैजान खोजेका छन् । प्रधानमन्त्री चयन गर्ने स्थायी कमिटी नभई संसदीय दलले हो । संसदीय दलमै चुनाव नै गरेपनि प्रधानमन्त्री ओली पक्षधरले जित्ने निश्चित भएको छ ।
प्रधानमन्त्रीको पक्षमा प्रतिनिधिसभा र राष्ट्रियसभामा गरी ११५ जना सांसदले साथ दिने ओलीनिकट नेताहरुको दाबी छ । बुधबार बिहानसम्म सुदूरपश्चिम प्रदेशका नेकपाका १९ सांसदमध्ये १६ जना आफ्नो पक्षमा उभिएपछि ओली पक्ष उत्साहित भएको छ । यसबीचमा केही सांसदले प्रधानमन्त्री ओलीलाई भेटेरै वा अन्य नेतामार्फत खबर गरेर प्रधानमन्त्रीको पक्षमा रहेको जनाउँदा त्यो संख्या ९२ पुगेको ओलीनिकट नेताहरुले बताएका छन् ।