बेलायतका प्रधानमन्त्री जाेनसनलाई पुत्रलाभ – Himalayan Dainik

बेलायतका प्रधानमन्त्री जाेनसनलाई पुत्रलाभ


बेलायतका प्रधानमन्त्री जाेनसनलाई पुत्रलाभ

लन्डन,१७ वैशाख – बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई पुत्रलाभ भएको छ । उनकी श्रीमती क्यारी साइमण्डस्ले बुधबार छोरा जन्माएको जानकारी दिइएको छ । प्रधानमन्त्री जोनसनका प्रवक्ताले बुधबार सो कुराको जानकारी दिएको बेलायती सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

बुधबार बिहान लन्डन अस्पतालमा प्रधानमन्त्रीलाई पुत्र जन्मिएको प्रवक्ताले जानकारी दिए । उनले आमा र शिशुको स्वास्थ्य अवस्था राम्रो रहेको पनि बताए । प्रधानमन्त्री जोनसन र उनकी श्रीमतीले लन्डनमा रहेको नेसनल हेल्थ सर्भिस् अस्पतालका चिकित्सक तथा कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।

प्रधानमन्त्रीलाई पुत्रलाभ भएपछि उनलाई बेलायतका नेता, मन्त्री तथा विशिष्ठ व्यक्तिहरुले बधाई दिएका छन् । गत फेब्रुअरी महिनामा मात्र प्रधानमन्त्री जोनसनको जोडीले आफूहरुले नयाँ बच्चा पाउने अपेक्षामा रहेको जानकारी दिएका थिए । प्रधानमन्त्री जोनसन कोरोना भाइरस संक्रमित भएर अस्पतालमा उपचार गराएर फर्किएका थिए । केही दिनको अस्पताल बसाईपछि गत सोमबार मात्र उनी काममा फर्किएका थिए ।

उनले काममा फर्किएपछि दिएको प्रतिक्रियामा कोरोना भाइरस बेलायती नागरिकमाथिको एक बज्रपात तथा एक अनपेक्षित घट्ना भएको बताएका थिए । उनले यो भाइरसको संक्रमणबाट बेलायती नागरिकहरुले एक अदृश्य सत्रुबाट जीवनमा कहिल्यै नसोचेको क्षति व्यहोरिरहेको जानकारी दिएका थिए ।