एसियामा कोरोनाको संक्रमणबाट हालसम्म ४ लाख ८३ संक्रमित, १७ हजार बढीको मृत्यु – Himalayan Dainik

एसियामा कोरोनाको संक्रमणबाट हालसम्म ४ लाख ८३ संक्रमित, १७ हजार बढीको मृत्यु


एसियामा कोरोनाको  संक्रमणबाट हालसम्म ४ लाख ८३ संक्रमित, १७ हजार बढीको मृत्यु

काठमाडौं,१६ वैशाख – एसिया महादेशमा पछिल्ला दिनमा कोरोना संक्रमण केही बढेको तथ्यांक सार्वजनिक भएको छ । पछिल्लो २४ घन्टामा एसिया महादेशमा मात्र ११ हजार ४ सय ९८ नयाँ संक्रमित देखिएको छ । अन्य महादेशको तुलनामा कम क्षति ब्यहोरेको एसियामा क्रमशः संक्रमण बढ्न थालेको जस्तो देखिएको छ ।

एसियाली मुलुक एवं नेपालको छिमेकी मुलुक चिनबाट सुरु भएको कोरोना भाईरसका कारण विश्वभर हालसम्म २ लाख बढीको मृत्यु भइसकेको छ । तर, एसियामै भने हालसम्म १७ हजार ५ सय ८८ जनाको मृत्यु भएको छ । एसियामा हालसम्म संक्रमित ४ लाख ८३ हजार ७ सय ६५ पुगेका छन् ।

पछिल्लो २४ घन्टामा मात्र एसियामा ३ सय ४५ जनाको मृत्यु भएको छ । एसियामा सबैभन्दा धेरै इरानमा मानिसहरुको मृत्यु भएको छ । हालसम्म इरानमा ५ हजार ८ सय ६ को मृत्यु भएको छ भने उद्गमस्थल चीनमा ४ हजार ६ सय ३३ जनाको मृत्यु भएको छ । सबैभन्दा बढी संक्रमित देखिएको टर्कीमा भने हालसम्म २ हजार ९ सयले ज्यान गुमाएका छन् भने १ लाख १२ जार २ सय ६१ जना संक्रमित देखिएका छन् ।

नेपालमा दक्षिणी छिमेकी देश भारतमा दिनप्रतिदिन संक्रमित एवं मृत्यु हुनेको संख्या बढ्दै गएको छ । भारतमा हालसम्म २९ हजार ४ सय ५१ जना संक्रमित भएका छन् भने ९ सय ३९ जनाको मृत्यु भएको छ । भारतमा गत २४ घन्टामा १ हजार ५ सय ६१ जना नयाँ संक्रमित देखिएका छन् भने ५८ जनाले ज्यान गुमाएका छन् ।

नेपालमा भने हालसम्म ५२ जना संक्रमित देखिएका छन् । तीमध्ये १६ जना उपचारपछि घर फर्किसकेका छन् भने ३६ जनाको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।

हालसम्म विश्वभर ३० लाख बढी संक्रमित भइसकेका छन् भने २ लाख ११ हजार बढीको मृत्यु भएको छ । त्यसमध्ये अमेरिकामा मात्र १० लाख भन्दा बढी मानिस संक्रमित देखिएकोमा ५६ हजार बढीको मृत्यु भइसकेको छ ।