काठमाडौँ, १५ बैशाख – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा राष्ट्रियसभा सदस्य दिनानाथ शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोजिए दुर्घट्ना हुने बताउनुभएको छ ।
सोमबार नेपाली रेडियो नेटवर्कबाट प्रशारित नेपाली बहस कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा नेता शर्माले अहिले तत्काल प्रधानमन्त्रीको विकल्प खोजीनुपर्छ भन्नेमा आफु नरहेको बताउनुभयो । पार्टीभित्रका समस्याहरु, सरकारभित्रका समस्याहरुलाई बसेर पार्टीमा छलफल गरेर समाधान गरेर लिएर जानुपर्ने बताउँदै उहाँले पार्टी एकतामा तलमाथि हुने कुरा कसैले पनि गर्नु नहुने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो लडाई, आन्तरिक लडाई र पार्टीभित्रको लडाईँ, दलदलहरुका बीचका लडाई भन्दापनि सम्पूर्ण दलहरु मिलेर, सम्पूर्ण जनता मिलेर कोरोनाविरुद्ध लडाई लड्नुपर्ने, गरिबीका विरुद्ध लडाई लड्नुपर्ने, अब अर्थतन्त्र धरायशी हुन गैरहेको छ । र, कसरी अर्थतन्त्रलाई सुधार गर्ने भनेर केन्द्रित भएर अगाडि बढ्नुपर्ने बेला हो । त्यसकारणले सबै राजनीतिक दलहरु, दलभित्रका गुटहरु, तिनका सोचहरु, स्वार्थहरु, सबैलाई छोडेर देश र जनताको हितमा काम गर्ने बेला हो ।’