प्रदेश नं २ मा शनिबार ४६५ पीसीआर परीक्षणका लागि नमूना संकलन – Himalayan Dainik

प्रदेश नं २ मा शनिबार ४६५ पीसीआर परीक्षणका लागि नमूना संकलन


प्रदेश नं २ मा शनिबार ४६५ पीसीआर परीक्षणका लागि नमूना संकलन

काठमाडौँ, १४ बैशाख  –  कोरोना भाइरस (कोभिड – १९)को सम्भावित संक्रमणको अवस्था पत्ता लगाउन सरकारले प्रदेश नं २ बाट ठूलो परिमाणमा पीसीआर परीक्षणका लागि नमूना संकलन गर्दैछ ।

नेपाली सेना र मेडिकल ल्यावरोटरी एसोसिएसन अफ् नेपाल (नेपाल) मेलानको समन्वयमा काठमाडौँबाट गएको प्राविधिक टोलीले स्थानीय स्वास्थ्यकर्मीको समन्वयमा शनिबार ४६५ जनाको नमूना ( थ्रोट स्वाब) संकलन गरिसकेको छ । संकलित नमूना केही वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, केहीको कीटजन्य रोग अन्वेषण केन्द्र हेटौँडाको प्रयोगशाला र केहीको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा परीक्षण गरिने तयारी भएको छ ।

प्रदेश नं २ मा अहिलेसम्म पर्सा, रौतहट र सर्लाही गरी ३ जिल्लामा कोरोना संक्रमण देखिएको छ । अरु जिल्लामा पनि यसको संक्रमण हुनसक्ने भन्दै कोरोना रोकथाम तथा नियन्त्रण सम्वन्धी उच्चस्तरीय समितिले प्रदेश नं २ को सबै आठवटा जिल्लाका जोखिम समूहको पहिचान गरि स्वाव संकलन गर्न लागेको बताए ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले प्रदेश नं २ का विभिन्न आठ जिल्लामा २७ वटा क्लस्टर छुट्याई नमूना संकलन गरिएको बताए ।

उनका अनुसार बारामा ७५, पर्सामा ५२०, महोत्तरीमा ३५, धनुषामा ३५, रौतहटमा १००, सर्लाहीमा १२०, सिराहामा ३१५, सप्तरीमा ३२० गरी १ हजार ५२० जनाको नमुना संकलन हुँदैछ ।

प्राविधिक टोलीको संयोजन गरेको मेलानका संरक्षक कृष्ण रिजालले केही जिल्लामा पहिलो दिनमै नमूना संकलन कार्य सम्पन्न भएको भन्दै बाँकी रहेका केही जिल्लामा आज थप संकलन हुने बताए ।

विदेशबाट आएका, संक्रमितका परिवार तथा उनीहरुको सम्पर्कमा रहेका व्यक्तिहरुलाई सम्भावित व्यक्तिको रुपमा पहिलो प्राथमिकतामा राखेर नमुना संकलन गरिएको बताइएको छ ।

यो नमूनाको नतिजा आएपछि कोरोना संक्रमणको स्तर कस्तो छ भन्ने थाह हुने मन्त्रालयका अधिकारीहरुले बताउने गरेका छन् ।