वीरगञ्ज, १४ वैशाख – वीरगञ्जमा र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) मा पोजेटिभ देखिएकी एक युवतीको मृत्यु भएको छ । वीरगञ्ज-१० अशोक बाटिका बस्ने २३ वर्षीया युवतीको मृत्यु भएको हो । उनको शव नारायणी अस्पतालमा राखिएको छ । उनमा आरडीटी रिपोर्ट पोजेटिभ देखिएपछि थ्रोट स्वाबको नमूना संकलन गरी परीक्षणका लागि हेटौंडास्थित प्रादेशिक प्रयोगशालामा पठाइएको छ ।
उनलाई आइसोलेसनमा राख्ने तयारी गर्दागर्दै मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. मदन उपाध्यायले जानकारी दिनुभयो । ‘उहाँ ब्लड क्यान्सरको बिरामी हुनुहुँदो रहेछ, आरडीटी पोजेटिभ देखिएको थियो,’ उहाँले भन्नुभयो, ‘पीसीआर परीक्षणका लागि थ्रोट स्वाब संकलन गरेर हेटौंडा पठाएका छौं ।’
पारिवारिक स्रोतले दिएको जानकारी अनुसार उनलाई स्वास्थ्यमा समस्या देखिएपछि ०७६ चैत ५ गते चितवनको भरतपुर क्यान्सर अस्पतालमा लगिएको थियो । अस्पतालमा जाँचपछि ब्लड क्यान्सर भएको प्रमाणित गर्दै प्रारम्भिक उपचारपछि चैत ९ गते डिस्चार्ज गरिएको थियो ।
एक महिनाअघि क्यान्सर अस्पतालबाट घर फर्किएकी उनलाई शनिबार बिहान स्वास्थ्यमा समस्या आएपछि अभिभावकले शुरुमा नेशनल मेडिकल कलेजमा लगेका थिए । तर मेडिकल कलेजले बेड खाली नरहेको भन्दै फर्काएपछि युवतीलाई एडभान्स हस्प्टिलमा लगिएको थियो ।
एडभान्स हस्पिटलले पनि आइसीयू बेड खाली नभएको जवाफ दिएपछि अभिभावकले युवतीलाई तराई हस्पिटलमा पुर्याएका थिए । शनिबार तराई हस्पिटलमा कोरोना संक्रमणको आशंकामा युवतीको आरडिटी टेष्ट गर्दा रिपोर्ट पोजिटिभ आएपछि पुन:परीक्षण गरिएको थियो । पुन:परीक्षणमा पनि उनमा कोरोना पोजेटिभ आएको थियो ।
तराई हस्प्टिलमा लगातार रिपोर्ट पोजिटिभ आएपछि शनिबार राति नारायणी अस्पतालबाट गएका स्वास्थ्यकर्मीको टोलीले पनि युवतीको आरडिटी टेष्ट गरेका थिए ।
तेस्रो पटकको रिपोर्ट पनि पोजेटिभ नै आएपछि युवतीलाई आइतबार बिहान १ बजेतिर तराई हस्पिटलबाट नारायणी अस्पताल ल्याउने क्रममा मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डाक्टर मदन उपाध्यायले जानकारी दिनुभयो । उनको मृत्यु भएपछि परिवारका सबै सदस्यहरुलाई होम क्वारेन्टाइनमा बस्न सुरक्षा निकायले आग्रह गरिसकेको छ ।