भिसा पाइसकेका सयौं डिभी विजेता नेपालमै अड्किए, २६ सय बढीको भिसा अनिश्चित – Himalayan Dainik

भिसा पाइसकेका सयौं डिभी विजेता नेपालमै अड्किए, २६ सय बढीको भिसा अनिश्चित


भिसा पाइसकेका सयौं डिभी विजेता नेपालमै अड्किए, २६ सय बढीको भिसा अनिश्चित

काठमाडौं, १३,वैशाख – अमेरिकाको आप्रवासी भिसा पाइसकेका सयौं डिभी विजेता नेपालीहरु कोरोनाको महामारीका कारण नेपालमा नै अड्कीएका छन् । कोरोनाको महामारीका कारण नेपालमा लकडाउन सुरु भएका कारण अन्तर्राष्ट्रिय उडानहरु बन्द हुँदा उनीहरु अमेरिका आउन नपाएका हुन् ।

मार्च महिनाको झण्डै दुईसाताको अवधिमा १८८ जना नेपालीहरुले डाइभर्सिटी भिसा प्राप्त गरेका थिए । मार्च १७ पछि भने अमेरिकी दूतावास काठमाडौंले डाइभर्सिटी भिसा र गैर आप्रवासी भिसाका अन्तरवार्ताहरु स्थगित गरेको थियो । तर अन्तरवार्ता स्थगित हुनु अगाडि मार्च महिनामा प्राथमिक डिभी विजेता ११२ जना, उनीहरुका दम्पत्ति ४२ जना र २१ बर्ष नपुगेका छोराछोरीहरु ३४ जना नेपालीले भिसा प्राप्त गरेका थिए ।

फरबरीमा भने डिभी विजेता, उनीहरुका दम्पत्ति र छोराछोरीगरी ३०३ जना नेपालीहरुले भिसा पाएका थिए । उनीहरुमध्येका कैयन कोरोनाको महामारीका कारण अमेरिका आउन पाएका छैनन् । त्यस्तै जनवरीमा ४१२ जना नेपालीले डाइभर्सिटी भिसा पाएका थिए । भिसाको अवधि ६ महिनाको हुने भएकाले मार्च वा अप्रिलमा अमेरिका आउने योजना बनाएका उनीहरुमध्येका पनि नेपालमै रोकिएका छन् ।

डिसेम्बरमा ४६०, नोभेम्बरमा ३२५ र अक्टोबरमा ८० नेपालीले डाइभर्सिटी भिसा प्राप्त गरेका थिए । तीमध्येका केहीले समेत मार्चको दोश्रोसातापछि वा अप्रिलमा अमेरिका आउने योजना बनाएका थिए । तर उनीहरु पनि नेपालमा नै रोकिएका छन् ।

अप्रिल २३ को मध्यरातपछि अमेरिकी सरकारले अधिकांश आप्रवासी भिसा जारी गर्न ६० दिनका लागि स्थगित गरेको छ । त्यसैले अब जुनको अन्तिम सातासम्म डिभी लोटरी विजेताहरुलाई भिसा जारी नगरिने भएका कारण यो अवधिमा भिसा पाउने अपेक्षा गरेका झण्डै १२ सय देखि १५ सय डिभी विजेता नेपालीहरु अन्यौलमा परेका छन् ।

चालु आर्थिक बर्षका लागि ३६९६ जना नेपालीहरुले डिभी लोटरी पारेका थिए । तर उनीहरुमध्ये जम्मा १०६९ जना प्राथमिक डिभी विजेताहरुले मात्र अमेरिकाको भिसा प्राप्त गरिसकेका छन् । बाँकी २६ सय भन्दा बढी नेपाली डिभी विजेताहरु अमेरिका आउन पाउने वा नपाउने अनिश्चयमा रहेको समाचार खसोखासडटकमले प्रकाशित गरेको छ ।