काठमाडौं, १३,वैशाख – रोना संक्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको कार्यदलले लकडाउन एक साता थप गर्नुपर्ने राय दिएको छ । कार्यदलको राय नै अन्तिम नभएको र सो बारेमा सम्भवतः आइतबार बस्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गर्ने जनाइएको छ ।
कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले लकडाउन प्रभावकारी भएकै कारण कोरोना नियन्त्रण प्रयास सही ट्र्याकमा रहेको निष्कर्ष निकालेको थियो । यद्यपि बैठकमा केही हिमाली जिल्लामा लकडाउन खुला गर्ने, क्षेत्रगत रुपमा खुकुलो बनाउने लगायतका विकल्प समेत आएको थियो ।
त्यसलगतै बसेको कार्यदलको बैठकले वैशाख १५ बाट एक साता लकडाउन लम्ब्याउनुपर्ने राय दिएको छ । त्यसपछि अर्को मोडलमा जान सकिने बताइएको छ ।
त्यही राय साथ समन्वय समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल सहितका मन्त्रीहरु बालुवाटार पुगेका थिए । उनीहरुले प्रधानमन्त्री ओलीसमक्ष कार्यदलको राय र बैठकमा आएका विकल्प तथा छलफलका विषयमा ब्रिफिङ गरेका थिए ।